शेयर बजार परिसूचक नेप्से २६ सयको विन्दुमा, कारोबार रकममा पनि वृद्धि
काठमाडौं, १३ कात्तिक । बिहीबार शेयर बजार परिसूचक नेप्से २६ सयको विन्दुमा आएर बन्द भएको छ । नेप्से ३४.२२ अंकले बढेर बजार बन्द भएको हो ।
बिहीबार कारोबार रकम पनि बढेको छ । बुधबार पाँच अर्ब ४५ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार सात अर्ब ५१ करोड रुपैयाँको कारोबार भएको हो ।
यसदिन तीन सय १९ लगानी उपकरण कारोबारमा आउँदा दुई सय ४८ वटाको मूल्य बढेको छ । कारोबारमा आएकामध्ये सामूहिक लगानी कोषबाहेक सबै समूह बढेका छन् ।
जलविद्युत समूहमा सबैभन्दा धेरै सुधार देखिएको छ । यो समूह २.६७ प्रतिशतले बढेर ३३७० विन्दुमा आएको छ । यसदिन गुराँस लघुवित्त र उन्नती सहकार्य लघुवित्त कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ । गुराँस लघुवित्तको प्रतिकित्ता शेयर दुई हजार तीन सय १० रुपैयाँ र उन्नती सहकार्यको दुई हजार दुई रुपैयाँमा कारोबार भएको हो ।
हिमालयन बैंकको संस्थापक शेयर सबैभन्दा धेरै कारोबार भएको छ । बैंकको एक अर्ब ६६ करोड रुपैयाँको संस्थापक शेयर किनबेच भएको हो । बजारमा हिमालयन बैंकको संस्थापक शेयर एक सय ३१ रुपैयाँको दरमा कारोबार भएको छ ।