बागमतीका मुख्यमन्त्री लामाले दिए राजीनामा

काठमाडाैं, १८ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । नेपाली कांग्रेस संसदीय दलको नेतामा पराजित भएपछि पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार उहाँले राजीनामा दिनुभएको हो ।

आइतबार हेटौँडामा पत्रकार सम्मेलन आयोजना गरी लामाले आफ्नो राजीनामा घोषणा गर्नुभएको हो ।
पत्रकार सम्मेलन सकिएलगत्तै उहाँ राजीनामा पत्र बुझाउन प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको कार्यालय पुग्नुभएको थियो । तर, प्रदेश प्रमुख राजधानी बाहिर रहनुभएकाले भेट हुन सकेन । मुख्यमन्त्री लामाले भोलि प्रदेश प्रमुखलाई भेटेरै राजीनामा पत्र हस्तान्तरण गर्ने जानकारी दिनुभयो ।

गत साउन १४ गते भएको कांग्रेस संसदीय दलको निर्वाचनमा लामा इन्द्रबहादुर बानियाँसँग पराजित हुनुभएको थियो । पत्रकार सम्मेलनमा उहाँले पार्टीको निर्णयलाई सम्मान गर्दै नवनिर्वाचित दलका नेता बानियाँको नेतृत्वमा सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । “पार्टी सभापतिको निर्देशन र आपसी समझदारीमा सरकार सञ्चालनको मार्ग प्रशस्त गर्न मैले राजीनामा दिएको हुँ,” लामाले भन्नुभयो ।
यद्यपि, मुख्यमन्त्री लामाले प्रदेश सरकारलाई अचानक ढाल्ने प्रपञ्च रचिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “संविधानले मलाई मुख्यमन्त्रीका रूपमा सुरक्षित राखेको थियो, तर मैले पार्टीको विधि, पद्धति र मूल्यमान्यतालाई स्थापित गर्न यो निर्णय लिएको हुँ ।” उहाँले यस्ता षडयन्त्रले राजनीतिक अस्थिरता निम्त्याउने र यो परम्परा अन्य प्रदेशमा पनि सुरु भएमा लोकतान्त्रिक गणतन्त्रमाथि नै खतरा उत्पन्न हुन सक्ने चिन्ता व्यक्त गर्नुभयो ।