एमालेको समर्थनमा कांग्रेसका इन्द्रबहादुर बानियाँ बागमतीको मुख्यमन्त्री नियुक्त
काठमाडाैं, २० साउन । नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको छैटौँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उहाँलाई मंगलबार नेपालको संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो।
११० सदस्यीय प्रदेशसभामा बानियाँले नेपाली कांग्रेसका ३७ र नेकपा (एमाले)का २७ सांसद गरी कुल ६४ सांसदको बहुमतसहित दाबी पेस गर्नुभएको थियो। नयाँ गठबन्धन बनेसँगै बानियाँले प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाउनुभएको हो।
मुख्यमन्त्री बन्नका लागि बानियाँले हालै आफ्नै पार्टीका संसदीय दलका नेता बहादुरसिंह लामाविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर दलको नेतामा चुनिनुभएको थियो। लामाले राजीनामा दिएपछि बानियाँका लागि मुख्यमन्त्री बन्ने बाटो खुलेको हो।
निर्माण व्यवसायीसमेत रहेका बानियाँ यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा मकवानपुरबाट निर्वाचित हुनुभएको थियो। उहाँ २०७३ सालमा संघीय सरकारमा गृह तथा पर्यटन राज्यमन्त्रीसमेत बन्नुभएको थियो। बानियाँले अब सानो आकारको मन्त्रिपरिषद् गठन गरी शपथ लिने तयारी गर्नुभएको छ।