एएफसी यू–२० महिला एसियन कप छनोट

पहिलो हाफ १–१ को बराबरीमा

काठमाडौँ, २१ साउन । एएफसी यू–२० महिला एसियन कप छनोटअन्तर्गत समूह एमा भएको नेपाल र भुटानबिचको पहिलो खेलको मध्यान्तरसम्मको खेल १–१ को बराबरीमा सकिएको छ ।

भुटानको थिम्पुमा बुधबार भएको खेल सुरु भएको एक मिनेट पनि भएको थिएन, सेनु परियारले गोल गरी नेपाललाई स्वप्निल अग्रता दिलाएकी थिइन् । सुक्रिया मियाले मैदानको दायाँ भागबाट गरेको क्रसमा सेनुले भुटानकी गोलरक्षकसमेतलाई छक्काउँदै गोल गरेकी हुन् ।

तर १८ औँ मिनेटमा केल्डेन वाङमोले डिबक्स भित्रबाट सशक्त प्रहारमार्फत् गोल गरी खेललाई बराबरीको स्थितिमा ल्याउनुभयो । सो गोलमा नेपालका डिफेन्डर र गोलकिपरको पनि गल्ती थियो । गोलपिकर लीला जोशीले आफ्नो स्थान छोडेर धेरै अगाडि बढेपछि वाङमोको प्रहारलाई रोक्ने अवसर पाइनन् ।

दुई हप्ताअघि बङगलादेशमा भएको साफ महिला यु२० च्याम्पियन्सीमपा नेपालले भुटानलाई ६–१ र ८–० ले हराएको थियो । तर भुटानले घरेलु मैदानमा भएको खेलमा मध्यान्तरसम्म नेपाललाई कडा टक्कर दिएको छ ।

यसअघि बुधबारै भएको पहिलो खेलमा उत्तर कोरियाले सउदी अरबलाई १५–० ले हराएको थियो । उत्तर कोरिया एएफसी एसियन कपको च्याम्पियन टिम हो । सो समूहमा रहेको अर्को टिम मङ्गोलियाले भने प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो । नेपालले समूह उपविजेताका रूपमा अगाडि बढ्ने लक्ष्य लिएको छ । ३२ राष्ट्रको सहभागिता रहेको छनोटमा आठ समूह रहेका छन् । हरेक समूहका विजेता आठ टोली तथा उत्कृष्ट तीन उपविजेता टोलीले आगामीवर्ष थाइल्यान्डमा हुने यु–२० एसिया कपमा स्थान बनाउने छ ।