मुख्यमन्त्री बानियाँले साउन २७ गते विश्वासको मत लिने

मकवानपुर, २३ साउन । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले यही साउन २७ गते प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ। मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराइसक्नुभएको छ।

प्रदेशसभाका सचिव रामकुमार पौडेलका अनुसार, साउन २७ गते दिउँसो ४ बजे बस्ने बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल हुनेछ।

तत्कालीन मुख्यमन्त्री बहादुरसिंह लामाले गत साउन १८ गते राजीनामा दिएपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई साउन २० गते मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो। नेपालको संविधानअनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका बानियाँ नेकपा (एमाले) सँगको गठबन्धनमा मुख्यमन्त्री बन्नुभएको हो। उहाँलाई प्रदेशसभाका बहुमत ६४ सदस्यको समर्थन रहेको छ। बागमती प्रदेशसभामा कुल ११० सदस्य छन्।

प्रदेशसभा सचिवालयले बैठकमा उपस्थितिका लागि सबै प्रदेशसभा सदस्यहरूलाई सूचना पठाइसकेको सचिव पौडेलले जानकारी दिनुभयो।