बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै, सत्ता साझेदार कांग्रेस र एमालेद्वारा ह्वीप जारी
काठमाडाैं, २७ साउन । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभामा विश्वासको मत लिँदै हुनुहुन्छ। नेपाली कांग्रेस र नेकपा (एमाले)को समर्थनमा मुख्यमन्त्री बन्नुभएका बानियाँलाई विश्वासको मत दिन दुवै दलले आफ्ना प्रदेशसभा सदस्यहरूलाई ह्वीप जारी गरेका छन्।
आज अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ। साउन २० गते कांग्रेस र एमालेका ६४ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका बानियाँले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिन लाग्नुभएको हो।
कांग्रेस संसदीय दलका सदस्यसचिव मीनकृष्ण महर्जन र एमाले संसदीय दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले सूचना जारी गर्दै बैठकमा अनिवार्य उपस्थित भई मुख्यमन्त्रीको पक्षमा मतदान गर्न निर्देशन दिनुभएको छ।