अपराध

रौतहटमा सुटकेसभित्र फेलापरेकाे महिलाको शव पहिचान

रौतहट, ८ भदाै । रौतहटको गौर-सिरसिया सडक खण्डमा मृत अवस्थामा सुटकेसभित्र फेला परेकी महिलाको सनाखत भएको छ।

मृतक गौर नगरपालिका–२, महादेवपट्टीमा डेरा गरी बस्दै आएकी ३५ वर्षीया रुवी शाह सुडी रहेको प्रहरीले पुष्टि गरेको छ।

जिल्ला प्रहरी कार्यालय, रौतहटका अनुसार गौर नगरपालिका–९ स्थित मुठवलबा गेट नजिकै फालिएको सुटकेसमा शव भेटिएको हो। मृतकको शव घुँडा र कुहिनो खुम्च्याएर सुटकेसमा प्याक गरिएको अवस्थामा थियो।

प्रहरी अनुसन्धानबाट खुलेअनुसार, रुवीको माइतीघर माधवनारायण नगरपालिका–६ मा हो भने उनको विवाह भारतमा भएको थियो। तर, उनी आफ्नो ४ वर्षीय छोरालाई पढाउनका लागि गौरमा डेरा लिएर बस्दै आएकी थिइन्।

डीएसपी राजु कार्कीले मृतकको नाकबाट रगत बगेको तर शरीरमा अन्य कुनै बाहिरी चोटपटक नदेखिएको जानकारी दिए। घटनाको अनुसन्धानका लागि मृतकका परिवारजन प्रहरीको सम्पर्कमा आइसकेका छन्। उनका श्रीमान् पनि खबर पाएलगत्तै भारतबाट नेपाल आइपुगेको प्रहरीले जनाएको छ।