काठमाडाैंकाे सडकमा उखु किसान, सिंहदरबारलाई दिए चेतावनी
काठमाडौँ, ८ भदौ। सरकारले वाचा गरेको अनुदान रकम आधा घटाएपछि आक्रोशित तराई–मधेशका सयौं उखु किसानहरूले काठमाडौंमा प्रदर्शन थालेका छन्।
‘कि मार्दे सरकार, कि अनुदान दे’ जस्ता नारा लगाउँदै उनीहरूले तत्काल प्रतिक्विन्टल ७० रुपैयाँकै दरले अनुदान भुक्तानी गर्न माग गरेका छन्।
उखु उत्पादक महासंघको अगुवाइमा गौशालाबाट सुरु भएको जुलुस सिंहदरबार क्षेत्र हुँदै माइतीघर मण्डलातर्फ अघि बढेको छ। सरकारले बजेट अभाव देखाउँदै प्रतिक्विन्टल ७० रुपैयाँको अनुदानलाई मनोमानी ढंगले ३५ रुपैयाँमा झारेपछि किसानहरू आफ्नो पसिनाको मूल्य माग्न राजधानी आउन बाध्य भएका हुन्।
“राज्य आफैंले मूल्य तोकेर पछि हट्न मिल्दैन,” महासंघका संयोजक श्यामबाबु रायले भने, “चिनी मिलले आफ्नो हिस्साको ५८५ रुपैयाँ दिइसक्यो, तर सरकारले धोका दियो। यो हाम्रो बाँच्ने आधार हो। अनुदान नपाएसम्म हामी घर फर्कंदैनौं।”
प्रदर्शनमा सिराहा, सर्लाही, रौतहट, नवलपरासी लगायतका जिल्लाबाट करिब ६०० किसान सहभागी छन्। उनीहरूले तत्कालका लागि चार दिने आन्दोलन घोषणा गरेका छन्, तर माग पूरा नभए अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी दिएका छन्।
गत आर्थिक वर्षमा देशभरका किसानले २ करोड १५ लाख क्विन्टल उखु बिक्री गरेका थिए, जसअनुसार सरकारले करिब १ अर्ब ६० करोड रुपैयाँ अनुदान दिन बाँकी छ। कृषि मन्त्रालयले ७० रुपैयाँ नै दिन प्रस्ताव गरे पनि मन्त्रिपरिषद्ले बजेट अभाव देखाउँदै प्रस्ताव अस्वीकृत गरी अनुदान रकम कटौती गरेको थियो।