रौतहट सुटकेश शव प्रकरण: हत्या आरोपमा एकजना पक्राउ, संलग्नताको बलियो प्रमाण भेटिएको प्रहरी दाबी

काठमाडौँ, ९ भदौ । रौतहटमा सुटकेशभित्र शव भेटिएकी २६ वर्षीया रुबीकुमारी साहको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जना संदिग्ध व्यक्तिलाई पक्राउ गरेको छ।

प्रहरीको उच्च स्रोतका अनुसार, पक्राउ परेका व्यक्तिविरुद्ध हत्यामा संलग्नता पुष्टि गर्ने बलियो प्रमाणहरू फेला परेका छन्।

एक अनुसन्धान अधिकृतले भने, “सोधपुछका लागि एकजनालाई नियन्त्रणमा लिइएको छ। उनी हत्यामा संलग्न हुनसक्ने केही प्रमाण फेला परेका छन् र थप अनुसन्धान तथा प्रमाण प्रमाणीकरणको काम भइरहेको छ।”

गत शनिबार गौर बजार जान भनी डेराबाट निस्किएकी रुबी आइतबार बिहान मृत अवस्थामा फेला परेकी थिइन्। उनले शनिबार साँझ करिब ६ बजे आफ्नी आमालाई फोन गरेकी थिइन्, तर त्यसपछि सम्पर्कविहीन भएकी थिइन्।

शनिबार राति नै गौर–सिरसिया सडकखण्डको मुडवालगेट नजिक सडकमा शंकास्पद सुटकेश देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले आइतबार बिहान उक्त सुटकेश खोल्दा भित्र रुबीको शव भेटिएको थियो।