इरान र युरोपेली शक्तिहरू बिच जेनेभामा महत्वपूर्ण आणविक वार्ता हुँदै

काठमाडौ, ९ भदौ । इरान र तीन प्रमुख युरोपेली शक्तिहरू (बेलायत, फ्रान्स र जर्मनी) बीच मङ्गलबार जेनेभामा आणविक कार्यक्रमलाई लिएर नयाँ चरणको वार्ता हुने भएको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार, उप–विदेशमन्त्री स्तरको यो बैठकमा युरोपेली सङ्घ (इयु) को पनि सहभागिता रहनेछ ।

यो वार्ता हालै इजरायलसँग भएको १२ दिने सैन्य तनावपछि हुन लागेको दोस्रो महत्वपूर्ण बैठक हो, जसले आणविक सम्झौतालाई पुनर्जीवित गर्ने प्रयासमा थप जटिलता थपेको छ ।

इजरायलसँगको तनावका क्रममा आफ्ना आणविक प्रतिष्ठानहरूमा अमेरिकी आक्रमण भएको भन्दै इरानले संयुक्त राष्ट्रसङ्घीय आणविक नियामक निकाय, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) सँगको सहकार्य निलम्बन गरेको थियो । तेहरानले आइएइएले इजरायल र अमेरिकाको आक्रमणको भर्त्सना नगरेको आरोप लगाउँदै आएको छ ।

यता, युरोपेली शक्तिहरूले सन् २०१५ को आणविक सम्झौता (जेसिपिओए) लाई बचाउन इरानमाथि दबाब बढाएका छन् । उनीहरूले यदि इरानले युरेनियम संवर्धन रोक्न र आइएइएका निरीक्षकहरूलाई पुनः सहयोग गर्न अस्वीकार गरेमा ‘स्न्यापब्याक संयन्त्र’ सक्रिय गर्ने चेतावनी दिएका छन् । यो संयन्त्र लागू भएमा सम्झौताअन्तर्गत हटाइएका संयुक्त राष्ट्रसङ्घका सबै प्रतिबन्धहरू स्वतः पुनः लागू हुनेछन् ।

तर, इरानले युरोपेली राष्ट्रहरू आफैँले सम्झौताअनुसारका प्रतिबद्धता पूरा नगरेको भन्दै उक्त संयन्त्र लागू गर्ने उनीहरूको अधिकारमाथि प्रश्न उठाएको छ ।

सन् २०१५ मा इरानले बेलायत, फ्रान्स, जर्मनी, चीन, रुस र अमेरिकासँग आणविक हतियार विकास नगर्ने प्रतिबद्धतासहित ऐतिहासिक सम्झौता गरेको थियो, जसको बदलामा उसमाथि लगाइएका आर्थिक प्रतिबन्धहरू हटाइएको थियो ।

तर, सन् २०१८ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकपक्षीय रूपमा अमेरिकालाई सम्झौताबाट अलग्याउँदै इरानमाथि कठोर आर्थिक प्रतिबन्धहरू पुनः लगाए । यसपछि इरानले पनि क्रमशः सम्झौताका शर्तहरूबाट पछि हट्दै युरेनियम संवर्धनलाई तीव्र बनाएको थियो ।

अमेरिकी प्रतिबन्धको असर कम गर्न युरोपेली देशहरूले केही व्यापारिक संयन्त्र बनाउने प्रयास गरे पनि त्यो असफल भयो, जसका कारण इरानको अर्थतन्त्रमा गम्भीर सङ्कट उत्पन्न भएको छ ।

‘स्न्यापब्याक संयन्त्र’ सक्रिय गर्ने समयसीमा आगामी अक्टोबरमा सकिँदैछ । यद्यपि, केही रिपोर्टहरूअनुसार यदि इरान अमेरिकासँग वार्तामा फर्कन र आइएइएलाई सहयोग गर्न तयार भएमा युरोपेलीहरू उक्त समयसीमा बढाउन लचिलो हुन सक्नेछन् । तर, इरानले यस्तो निर्णय गर्ने अधिकार युरोपेली शक्तिहरूलाई नभएको अडान राख्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *