गाजामा अस्पतालमा इजरायली आक्रमण: पाँच पत्रकारसहित २० जनाको मृत्यु, अन्तर्राष्ट्रिय समाचार संस्थाहरूद्वारा कडा निन्दा
काठमाडौँ, भदौ ९ । गाजा पट्टीको दक्षिणी सहर खान युनिसस्थित एक अस्पतालमा सोमबार भएको इजरायली आक्रमणमा परी पाँच पत्रकारसहित कम्तीमा २० जनाको मृत्यु भएको छ । गाजाको नागरिक सुरक्षा निकायले नासेर अस्पतालमा भएको यस आक्रमणले युद्ध क्षेत्रमा कार्यरत पत्रकारहरूको सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको जनाएको छ ।
गाजाको सुरक्षा निकायका प्रवक्ता महमुद बसालका अनुसार, इजरायली विस्फोटक ड्रोनले अस्पतालको एउटा भवनलाई निशाना बनाएको थियो । जसमा परी मारिनेहरूमा पाँच पत्रकार र नागरिक सुरक्षाका एक सदस्य पनि छन् ।
यसै बिच, इजरायली सेनाले नासेर अस्पताल क्षेत्रमा आफ्ना सेनाले कारबाही गरेको स्वीकार गर्दै घटनाको तत्काल छानबिन गर्न निर्देशन दिइएको जनाएको छ । सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लडाकू समूहमा संलग्न नभएका व्यक्तिहरूलाई पुगेको कुनै पनि क्षतिप्रति इजरायली सेना दुःख व्यक्त गर्दछ र इजरायलले पत्रकारहरूलाई लक्षित गर्दैन ।’
आक्रमणमा मारिने पत्रकारहरूमा कतारस्थित अलजजिराका फोटो पत्रकार मोहम्मद सलामा, अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी) की ३३ वर्षीया फोटो पत्रकार मरियम डग्गा, र बेलायती समाचार एजेन्सी रोयटर्सका हुसाम अल–मसरी रहेका छन् । आक्रमणमा रोयटर्सका अर्का पत्रकार हातेम खालिद घाइते भएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् । अलजजिराले यसलाई “सत्यलाई चुप गराउने योजनाबद्ध अभियानको एक भाग” भन्दै भयानक अपराधको संज्ञा दिएको छ । एपीले आफ्ना पत्रकारको मृत्युको खबरले ‘दुःखी’ बनाएको बताएको छ भने रोयटर्सले घटनाको थप जानकारी माग गर्दै घाइते पत्रकारका लागि तत्काल चिकित्सा सहायता उपलब्ध गराउन आग्रह गरेको छ ।
‘प्यालेस्टिनी जर्नालिस्ट सिन्डिकेट’का अनुसार आक्रमणमा मारिने अन्य दुई पत्रकारमा मोअज अबु ताहा र अहमद अबु अजिज रहेका छन् ।
मिडिया अनुगमनकारी संस्थाहरूका अनुसार, करिब दुई वर्षदेखि जारी इजरायल-हमास युद्धमा हालसम्म २०० को हाराहारीमा पत्रकार मारिएका छन् । एएफपीले भने गाजामा सञ्चारमाध्यममा लगाइएको प्रतिबन्ध र पहुँचमा कठिनाइका कारण मृतकको सङ्ख्या र घटनाको विवरण स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको जनाएको छ ।
