कोरियन एयरले अमेरिकी विमान निर्माता कम्पनी बोइङसँग ५० अर्ब डलरको १०० भन्दा बढी विमान खरिद गर्ने

काठमाडौँ, भदौ १० । कोरियन एयरले अमेरिकी विमान निर्माता कम्पनी बोइङसँग ५० अर्ब अमेरिकी डलर बराबरको विमान खरिद गर्न सम्झौता गरेको घोषणा गरेको छ । यो सम्झौताको घोषणा दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिच वासिङ्टनमा भएको भेटवार्तापछि आयोजित एक औपचारिक कार्यक्रममा गरिएको हो ।

सम्झौता अन्तर्गत एयरलाइनले एक सयभन्दा बढी नयाँ विमान खरिद गर्ने, अतिरिक्त स्पेयर इन्जिन लिने र २० वर्षे इन्जिन मर्मत-सम्भार सेवा प्राप्त गर्नेछ । सम्झौता अनुसार, कोरियन एयरले १०३ वटा नेक्स्ट-जेनेरेसन बोइङ विमानका लागि ३६.२ अर्ब डलर, जीई एरोस्पेस र सीएफएम इन्टरनेसनलका १९ वटा स्पेयर इन्जिनका लागि ६९ करोड डलर, र जीई एरोस्पेससँगको २० वर्षे इन्जिन मर्मत सेवाका लागि १३ अर्ब डलर खर्च गर्नेछ ।

कोरियन एयरले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “यो सम्झौता अमेरिकी उड्डयन उद्योगसँग हाम्रो साझेदारीलाई थप सुदृढ पार्ने एक रणनीतिक निर्णय हो । अमेरिकी बजारमा गरिएको यो लगानीले हाम्रो सञ्चालन क्षमता र विश्वव्यापी प्रतिस्पर्धालाई बढावा दिनेछ, साथै दिगो विकास र दीर्घकालीन व्यावसायिक सम्बन्धलाई बलियो बनाउनेछ ।”

खरिद गरिने विमानहरूमा २० वटा बोइङ ७७७-९, २५ वटा बोइङ ७८७-१०, ५० वटा बोइङ ७३७-१० र आठ वटा बोइङ ७७७-८एफ मालवाहक विमान रहेका छन् । यी सबै विमानहरू सन् २०३० को अन्त्यसम्ममा चरणबद्ध रूपमा हस्तान्तरण हुने तालिका रहेको छ ।

सम्झौता हस्ताक्षर समारोहमा कोरियन एयर तथा हन्जिन समूहका अध्यक्ष तथा सीईओ वाल्टर चो, बोइङ कमर्सियल एयरप्लेनकी अध्यक्ष तथा सीईओ स्टेफनी पोप, र जीई एरोस्पेसका कमर्सियल इन्जिन तथा सेवा विभागका अध्यक्ष तथा सीईओ रसेल स्टोक्सको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *