६ लाख चिनियाँ विद्यार्थीलाई अमेरिका प्रवेश दिने घोषणा
काठमाडौँ, भदौ १० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट ६ लाख विद्यार्थीलाई अमेरिकामा प्रवेश दिने घोषणा गर्नुभएको छ । चीनसँगको भन्सार शुल्क वार्ताका क्रममा उहाँले चिनियाँ विद्यार्थीको उपस्थितिलाई महत्त्वपूर्ण भन्दै यो निर्णय सुनाउनुभएको हो । “हामी उनीहरूका विद्यार्थीलाई अनुमति दिनेछैनौँ भन्ने म धेरै अफवाह सुन्छु । तर होइन, हामी उनीहरूलाई भित्र आउन दिनेछौँ । यो धेरै महत्त्वपूर्ण छ – ६ लाख विद्यार्थी। यो ठूलो कुरा हो,” ट्रम्पले स्पष्ट पार्नुभयो ।
राष्ट्रपति ट्रम्पले चीनसँग राम्रो सम्बन्ध कायम हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रपति सी मलाई चीन आउन चाहनुहुन्छ । यो निकै महत्त्वपूर्ण सम्बन्ध हो । हामी चीनबाट भन्सार शुल्क र अन्य कारणले धेरै पैसा सङ्कलन गरिरहेका छौँ । तर हामी चीनसँग राम्रो गर्नेछौँ ।”
उहाँका अनुसार, अहिलेको चीनसँगको आर्थिक सम्बन्ध अघिल्लो बाइडेन प्रशासनको तुलनामा धेरै बलियो छ । यस वर्षको सुरुमा अमेरिकी प्रशासनले सबै चिनियाँ सामानमा १४५ प्रतिशत कर लगाएको थियो भने जवाफी कदमस्वरूप बेइजिङले अमेरिकी निर्यातमा १२५ प्रतिशत कर लगाएको थियो ।
जेनेभामा मे महिनामा वार्ताकारहरूले अतिरिक्त करहरू रोक्ने सहमति गरे पनि ट्रम्पले अझै थप दण्डको चेतावनी दिन छाड्नुभएको छैन । गत हप्ता मात्रै उहाँले चिनियाँ निर्मित म्याग्नेटमा २०० प्रतिशत कर लगाउने घोषणा गर्नुभएको थियो, जसलाई उहाँले विश्व बजारमा बेइजिङको ‘एकाधिकार’ को रूपमा चित्रण गर्नुभएको थियो ।
“यसमा कुनै समस्या आउँछ भन्ने मलाई लाग्दैन,” ट्रम्पले पत्रकारहरूलाई भन्नुभयो, “चीनले बुद्धिमानीपूर्वक विश्वको म्याग्नेट बजारमा एकाधिकार बनाएको छ। तिनीहरूलाई पाउन सम्भवतः हामीलाई एक वर्ष लाग्न सक्छ ।”
फक्स न्युजका अनुसार हाल करिब २ लाख ७० हजार चिनियाँ विद्यार्थी अमेरिकी विश्वविद्यालयहरूमा अध्ययनरत छन् । यसैबीच, मे महिनामा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चिनियाँ नागरिकहरू, विशेषगरी कम्युनिस्ट पार्टी वा संवेदनशील अनुसन्धान क्षेत्रमा संलग्न व्यक्तिहरूका लागि भिसा आक्रामक रूपमा रद्द गर्ने योजना सार्वजनिक गर्नुभएको थियो ।
तर, ट्रम्पले जुन महिनामा पत्रकारहरूसँग चीनबाट विद्यार्थी स्वागत गर्ने पक्षमा आफू सधैँ रहेको दोहोर्याउनुभएको थियो, जसले अमेरिकी प्रशासनको नीतिमा रहेको भिन्नतालाई संकेत गर्दछ ।
