जापानका महान् योद्धा हिदेयोसीको मूर्ति तोडफोड, टाउको काटेर लगियो
एजेन्सी, ११ भदाै । जापानको नागोया शहरमा रहेको एक सपिङ सेन्टर बाहिर राखिएको १६औँ शताब्दीका शक्तिशाली समुराई (योद्धा) तोयोतोमी हिदेयोसीको मूर्तिको टाउको काटिएको छ। बुधबार सार्वजनिक भएको यो घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ।
तोयोतोमी हिदेयोसी जापानको इतिहासमा एक महत्वपूर्ण व्यक्तित्व हुन्, जसलाई १६औँ शताब्दीमा जापानलाई एकीकरण गर्ने श्रेय दिइन्छ। यद्यपि, उनी कोरियाली प्रायद्वीपमा गरेको विवादास्पद र असफल आक्रमणका कारण पनि चिनिन्छन्।
स्थानीय एन्डोजी सपिङ आर्केड संघले उक्त मूर्तिलाई समुदायको प्रतीक मान्दै आएको थियो र घटनाबारे प्रहरीलाई जानकारी दिने तयारी गरिरहेको छ। कसले र किन यस्तो गर्यो भन्नेबारे केही खुलेको छैन।
यो क्षेत्रमा ऐतिहासिक योद्धाहरूको मूर्ति तोडफोड भएको यो पहिलो पटक भने होइन। यसअघि सन् २०२२ मा, जापानमा शोगुन शासन स्थापना गर्ने तोकुगावा इयासुको मूर्तिमा क्षति पुर्याइएको थियो। त्यसैगरी, सन् २०१९ मा अर्का प्रसिद्ध योद्धा ओडा नोबुनागाको मूर्तिको हात काटिएको थियो।
हिदेयोसी, इयासु र नोबुनागा जापानको इतिहासमा ‘तीन महान् एकीकरणकर्ता’ का रूपमा चिनिन्छन्, जसले लामो गृहयुद्धको अन्त्य गरी देशलाई एकताबद्ध बनाएका थिए।
पछिल्ला वर्षहरूमा विश्वका अन्य देशहरूमा पनि उपनिवेशवाद र दासप्रथा जस्ता विवादित इतिहाससँग जोडिएका ऐतिहासिक व्यक्तित्वका मूर्तिहरू तोडफोड गर्ने वा हटाउने बहस चल्दै आएको छ।
