यहुदी विरोधी आक्रमणमा अष्ट्रेलियाको आरोप इरानबाट अस्वीकार
काठमाडौँ, भदौ ११ । इरानले अष्ट्रेलियामा भएका दुई यहुदी विरोधी आक्रमणमा तेहरानको हात रहेको भन्ने आरोपलाई अस्वीकार गरेको छ । इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले लगाएका आरोपहरूको खण्डन गर्नुभयो ।
बाघाईले अष्ट्रेलियाले इरानी राजदूत अहमद सादेगीलाई निष्कासन गर्ने निर्णयप्रति पनि प्रतिक्रिया दिँदै भन्नुभयो, “स्वाभाविक रूपमा, कूटनीतिक स्तरमा गरिने कुनै पनि अनुचित र अन्यायपूर्ण कदमले पारस्परिक प्रतिक्रिया पाउनेछ।”
उहाँका अनुसार इरानविरुद्ध अष्ट्रेलियाले हालै चालेको कदम ‘वास्तवमा कूटनीति र दुई देशबीचको सम्बन्धविरुद्धको कारबाही’ हो। प्रधानमन्त्री अल्बानिजले मंगलबार अष्ट्रेलियाले इरानका लागि आफ्ना राजदूत फिर्ता बोलाउने र तेहरानस्थित दूतावासको सञ्चालन स्थगित गर्ने घोषणा गर्नुभएको थियो।
