आसामसँग नेपाल ए डकवर्थ लुइसको नियमअनुसार पराजित
काठमाडौँ, १२ भदौ । नेपाल ‘ए’ टि २० शृङ्खलाअन्तर्गत पहिलो खेलमा बिहिबार आसाम प्रदेश क्रिकेट संघसँग डकवर्थ लुइस (डिएसएल) को आधारमा १५ रनले पराजित भएको छ । यस नतिजासँगै पाँच खेलको शृङ्खलामा नेपाल पछाडि परेको छ । दोस्रो खेल शुक्रबार हुनेछ ।
भारतको गुहाटीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टम आसामले निर्धारीत २० ओभरमा आठ विकेटको क्षतिमा १९० रन बनाएको थियो । नेपालले जवाफमा आठमा ओभरमा तीन विकेटको क्षतिमा ६४ रन बनाउँदा पानी पर्यो । त्यसपछि रोकिएको खेल पुनः सुचारु हुन सकेन ।
सो समय डकवर्थ लुइसको नियमअनुसार आसाम अगाडि भएपछि नेपाल निराश बनेको हो । खेल रोकिनुअघि शुभ कंसकार ३३ र सन्दीप जोरा दुई रनमा अविजित थिए । कप्तान अनिल शाह २०, पवन सराफ ६ र इशान पाण्डे एक रनमा आउट भएका थिए ।
आसामका लागि मरिनमोय दत्त र आकाश सेन गुप्ताले विकेट लिए । यसअघि, आसामका लागि सुमित घाडीगाँउकरले ३४, अभिनव चौधरीले २६, आकाश सेनगुप्ताले अविजित २४, रोहित शेनले २४, सुमित काश्यपले २२, साहिल जैनले १७ तथा अविलश गोगोइ र आयुशमान मालाकारले १३–१३ रन बनाएका थिए ।
नेपालका लाग आकाश चन्दले तीन, कमलसिंह ऐरी र विवेककुमार यादवले दुई–दुई तथा आदिल आलम अन्सारीले एक विकेट लिए ।