सुडानको एल फासरमा मानवीय सङ्कट : संयुक्त राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त
काठमाडौँ, भदौ १२ । संयुक्त राष्ट्रसङ्घका मानवीय सहायतासम्बन्धी निकायहरूले सुडानको उत्तर दारफुर राज्यस्थित एल फासर सहरमा बालबालिकाहरू अत्यधिक कठिन र पीडादायक अवस्थाबाट गुज्रिरहेको जानकारी दिएका छन् । ५०० दिनभन्दा बढी समयदेखि घेराबन्दीमा परेको यस सहरको अवस्था दिन प्रतिदिन भयावह बन्दै गएको छ ।
संयुक्त राष्ट्रसंघ बालुवा कोष (युनिसेफ) ले एल फासरमा कुपोषण, रोग र हिंसाका कारण दैनिक रूपमा बालबालिकाको ज्यान गइरहेको जनाएको छ । सहरभित्र अनुमानित २ लाख ६० हजार मानिस अलपत्र परेका छन्, जसमध्ये करिब आधा बालबालिका छन् । यी सबै १६ महिनाभन्दा लामो समयदेखि मानवीय सहायताबाट वञ्चित छन् ।
सन् २०२५ को सुरुवातदेखि हालसम्म मात्रै १० हजारभन्दा बढी बालबालिकाको गम्भीर कुपोषणको उपचार गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा लगभग दोब्बर हो । दुःखको कुरा, एक साताको अवधिमा कम्तीमा ६३ जनाको मृत्यु भएको छ, जसमध्ये धेरैजसो महिला र बालबालिका रहेका छन् ।
युनिसेफका अनुसार, घेराबन्दीका कारण खाद्यसामग्री र स्वास्थ्य सामग्री पुर्याउने बाटो पूर्ण रूपमा बन्द भएको छ । औषधिको अभावका कारण अस्पताल तथा घुम्ती पोषण सेवा बन्द गर्नुपरेको छ, जसले गर्दा करिब ६ हजार गम्भीर कुपोषित बालबालिकाले आवश्यक उपचार पाउन सकेका छैनन् ।
यसका साथै, हैजाको सङ्क्रमण पनि तीव्र रूपमा फैलिरहेको छ। यसलाई रोकथाम गर्नका लागि खानेपानी, सरसफाइ, औषधि लगायतका सहायता सामग्रीहरू प्रदान गरिएको भए पनि मानवीय मामिला समन्वय कार्यालयका अनुसार केही दुर्गम क्षेत्रमा अझै नयाँ सङ्क्रमण देखापरिरहेको छ ।
एल फासरमा गत चैतदेखि जारी द्वन्द्वका क्रममा १ हजार १०० भन्दा बढी गम्भीर घटना पुष्टि भइसकेका छन्, जसमा १ हजारभन्दा बढी बालबालिका मारिएका वा घाइते भएको युनिसेफले जनाएको छ । वास्तविक सङ्ख्या अझै धेरै हुन सक्ने अनुमान गरिएको छ, किनकि धेरै घटनाहरू पुष्टि गर्न कठिन छ ।
