‘मालती मंगले’ को शुभ मुहूर्त, विजय र वर्षा शीर्ष भूमिकामा

काठमाडौँ, भदौ १३ ।  गायक रामकृष्ण ढकालको निर्माणमा बन्न लागेको नेपाली चलचित्र ‘मालती मंगले’ ले औपचारिक रूपमा आफ्नो निर्माण यात्रा प्रारम्भ गरेको छ । बिहीबार काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा स्क्रिप्ट तथा क्यामेरा पूजासहित चलचित्रको शुभ मुहूर्त गरियो ।

चलचित्रको पहिलो क्ल्याप निर्माता ढकालका अभिभावक गोपाल कर्माचार्यले दिएका थिए। यस अवसरमा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउतले पहिलो दृश्य अभिनय गर्दै चलचित्रको छायाङ्कन शुभारम्भ गरे ।

निर्माता ढकालले कार्यक्रममा ‘राम्रो र स्तरीय चलचित्र निर्माण गर्ने’ आफ्नो प्रतिबद्धता व्यक्त गर्दै नेपाली समाजसँग जोडिने भावनात्मक कथा दर्शकमाझ पस्किने बताए । अभिनेता विजय बराल, अभिनेत्री वर्षा राउत र मेक्सम गौडेलले ‘मालती मंगले’ आफ्नो अभिनय यात्रामा विशेष बन्ने विश्वास व्यक्त गरे ।

यस चलचित्रमा विजय, वर्षा, मेक्समसँगै सुवर्ण थापा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पंगेनी, सुस्मिता गुरुङ, सागर भट्टर्राईलगायतका कलाकारहरूको अभिनय रहनेछ ।

चलचित्रको निर्देशन प्रकु पाण्डेयले गर्नेछन् भने कथा पनि उनकै लेखन रहेको छ । पटकथा तथा संवाद गुरागाईँले तयार पारेका हुन्। चलचित्र पारिवारिक भावनासँग जोडिएको प्रेमकथामा आधारित रहने जनाइएको छ ।

कार्यकारी निर्माता सागर ज्ञवालीका अनुसार चलचित्रको मुख्य छायाङ्कन तनहुँ र स्याङ्जा जिल्लाका सुन्दर भूभागमा गरिनेछ, जुन शनिवारदेखि सुरु हुने तयारीमा छ । रानी म्युजिक इन्टरनेशनल प्रा.लि.को ब्यानरमा युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने यस चलचित्रका निर्माता रामकृष्ण ढकाल हुन् भने सह–निर्मातामा रविन श्रेष्ठ, बाबु सुवेदी, मनोज बजगाईँ र ईश्वर बजगाईँ रहेका छन् ।

चलचित्रमा छायाङ्कन निर्देशक महेश पौडेल, सम्पादक रोमी तण्डुकार, रङ्ग संयोजक कृष्ण भण्डारी रहेका छन् । गीतहरू राजेन्द्र थापा, आनन्द अधिकारी, गोपाल अधिकारी र हर्क साउदले लेख्नेछन् भने सङ्गीतमा हरि लम्साल, राजनराज सिवाकोटी, एसडी योगी र उज्ज्वल सागरले काम गर्नेछन् । कस्ट्युम डिजाइन रवि पोखरेल, कला निर्देशक मनोज बोगटी, प्रोडक्सन डिजाइनर रिजन परिया तथा प्रमुख सहायक निर्देशक शिशिर पोखरेल रहेका छन् ।