थाई प्रधानमन्त्री पेटोङटार्न बर्खास्त, संवैधानिक अदालतद्वारा नैतिकता उल्लङ्घनको ठहर
एजेन्सी, १३ भदाै । थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई नैतिकता र संवैधानिक नियम उल्लङ्घन गरेको ठहर गर्दै पदबाट बर्खास्त गरेको छ।
कम्बोडियाका सिनेट अध्यक्ष हुन सेनसँगको फोन कलको विषयमा आएको यो फैसला शुक्रबारदेखि लागू भएको छ। यससँगै पेटोङटार्नले करिब एक वर्षदेखि सम्हाल्दै आएको प्रधानमन्त्रीको जिम्मेवारी गुमाउनुभएको छ।
अदालतले उहाँविरुद्धको मुद्दाको सुनुवाइमा सहमति जनाएपछि जुलाई १ मै उहाँलाई निलम्बन गरिएको थियो र उपप्रधानमन्त्री फुमथम वेचाचाईले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो।
जुन १५ मा हुन सेनसँग गरेको फोन कल दुई मुलुकबीचको सिमानामा जारी तनाव कम गर्ने उद्देश्यले गरिएको भए पनि, उक्त कलले राष्ट्रिय सुरक्षामा असावधानी देखाएको र थाई सेनाका जनरललाई बदनाम गरेको आरोप लगाइएको थियो। हुन सेन सन् २०२३ मा आफ्ना छोरा हुन मानेटले प्रधानमन्त्री पद सम्हाल्नुअघिसम्म कम्बोडियामा ३८ वर्ष शासन गर्नुभएको थियो।
यो फोन कल मे महिनामा विवादित सीमा क्षेत्रमा भएको छोटो हिंसात्मक घटनापछि भएको थियो, जसमा कम्बोडियाका एक सैनिकको मृत्यु भएको थियो। जुन महिनाको अन्त्यमा दुई मुलुक पाँच दिनको लडाइँमा संलग्न हुँदा दर्जनौं मानिस मारिएका थिए भने २ लाख ६० हजारभन्दा बढी विस्थापित भएका थिए।
अदालतको यस फैसलाले पेटोङटार्नको नेतृत्वमा रहेको सत्तारूढ फेउ थाई गठबन्धनलाई थप अस्थिर बनाएको छ। फोन कल विवादपछि फेउ थाईको ठूलो साझेदार भुमजाइथाई पार्टी गठबन्धनबाट बाहिरिएको थियो, जसले प्रतिनिधि सभामा फेउ थाईको बहुमतलाई कमजोर पारेको थियो।
यो कदम पेटोङटार्नका पिता तथा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको राजनीतिक संयन्त्रका लागि पनि ठूलो झट्का मानिएको छ। थाक्सिनलाई सन् २००६ मा सैनिक कूद्वारा सत्ताबाट हटाइएको भए पनि, उहाँ थाई राजनीतिमा लोकप्रियतावादी नीतिहरू र विशाल सम्पत्तिका कारण अझै पनि प्रभावशाली मानिनुहुन्छ।
