दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनकी पत्नी र पूर्वप्रधानमन्त्रीमाथि मार्सल ल र भ्रष्टाचार मुद्दामा अभियोग

दक्षिण कोरिया, १३ भदाै । दक्षिण कोरियाका अपदस्थ पूर्वराष्ट्रपति युन सुक योलकी पत्नी किम केओन ही र उहाँका पूर्वप्रधानमन्त्री हान डक–सूलाई विशेष अभियोजकहरूले शुक्रबार दोषी ठहर गरेका छन्।

यो कारबाही सन् २०२४ डिसेम्बरमा युनद्वारा गरिएको मार्सल ल (सैन्य शासन) घोषणा र त्यसपछिको राजनीतिक संकटसँग सम्बन्धित अनुसन्धानको एक हिस्सा हो।

युनले मार्सल ल घोषणा गरेर विपक्षी बहुमतको संसद्लाई दबाउन खोज्नुभएको थियो, जसले देशमा महिनौंसम्म अशान्ति निम्त्याएको थियो। उहाँलाई महाभियोग लगाएपछि अप्रिलमा पदच्यूत गरियो र गत महिना पुनः पक्राउ गरिएको थियो। नयाँ सरकारले भ्रष्टाचार र मार्सल लसम्बन्धी मुद्दाहरूको छानबिन गर्न तीन विशेष अभियोजक नियुक्त गरेको छ।

विशेष अभियोजक मिन जोङ–कीको टोलीले किममाथि वित्तीय नियम उल्लङ्घन र घुसखोरीको आरोप लगाएको छ। अर्का विशेष अभियोजक चो युन–सुकको टोलीले पूर्वप्रधानमन्त्री हानमाथि मार्सल ल लागू गर्न युनलाई उक्साएको, आधिकारिक कागजात नष्ट गरेको र शपथअन्तर्गत झूट बोलेको अभियोग लगाएको छ।

यस प्रकरणमा पूर्व रक्षामन्त्री किम योङ ह्युनसहित धेरै उच्च अधिकारीमाथि आरोप लागेको छ। संसद्मा सेना पठाएको, सांसदहरूलाई मतदानबाट रोक्ने प्रयास गरेको र बाढी उद्धार अभियानमा मरीनको मृत्यु ढाकछोप गरेको जस्ता विषयमा पनि अनुसन्धान भइरहेको छ।

हानलाई पक्राउ गर्न अदालतलाई अनुरोध गरिएको भए पनि, अदालतले भाग्ने वा प्रमाण नष्ट गर्ने सम्भावना न्यून रहेको भन्दै सो अनुरोध अस्वीकार गरेको छ। तर विशेष सल्लाहकार पार्क जी–यङले हानले युनको आदेशलाई वैधता दिन सक्रिय भूमिका खेलेको दाबी गर्नुभएको छ।

युन र किम आपराधिक मुद्दामा एकैपटक जेल जान सक्ने पहिलो पूर्वराष्ट्रपति दम्पती बन्ने सम्भावना बढेको छ। आलोचकहरूले युनको मार्सल ल घोषणा आंशिक रूपमा किमविरुद्धका भ्रष्टाचारका आरोपबाट ध्यान हटाउने प्रयास थियो कि भन्ने प्रश्न उठाएका छन्।

किम र युनमाथि सन् २०२२ को उपचुनावमा मनपर्ने उम्मेदवारलाई समर्थन गर्न पार्टीभित्र अनुचित प्रभाव पारेको र सर्वेक्षण डाटा हेरफेर गरिएको आरोपसमेत छ।