गाजामा इजरायली हवाई हमला: २० प्यालेस्टिनीको मृत्यु, दर्जनौं घाइते
काठमाडौँ, भदौ १३ । शुक्रबार बिहानैदेखि इजरायली सेनाले गाजा पट्टीका विभिन्न स्थानमा गरेको हवाई हमलामा परी कम्तीमा २० जना प्यालेस्टिनीले ज्यान गुमाएका छन् भने अन्य धेरै घाइते भएका छन् । कतार समाचार एजेन्सी (क्युएनए) का अनुसार इजरायली सेनाले गाजा पट्टीका विभिन्न क्षेत्रमा हिंसात्मक छापा मार्दै गोलाबारी गरेको छ । गाजाका चिकित्सा स्रोतहरूले दक्षिणी गाजाको खान युनुसस्थित अल-मवासी क्षेत्रमा रहेको विस्थापन शिविरमा भएको हवाई हमलामा एक दम्पतीसहित पाँच जना प्यालेस्टिनीको मृत्यु भएको पुष्टि गरेका छन् ।
मध्य गाजाको देइर अल–बलाहमा एउटा अपार्टमेन्ट भवनमा ड्रोन हमला हुँदा दुई जना नागरिक मारिएका छन् । सोही सहरमा किसानहरूको समूहलाई लक्षित गरी गरिएको आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् । अल–बुरेज शरणार्थी शिविरमा भएको अर्को हमलामा एक जनाको ज्यान गएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार उत्तरी गाजाको अल-सुदानिया क्षेत्रमा विस्थापितहरूको पालमा चार जना नागरिक मारिएका छन् ।अन्य घाइते भएका छन् । गाजा सहरको दक्षिणपश्चिमस्थित ताल अल–हवा छिमेकमा भएको हवाई हमलामा पाँच जना प्यालेस्टिनी मारिएका छन् भने धेरै घाइते भएका छन् ।
यसैबीच, इजरायली सेनाले गाजा सहरको दक्षिणमा रहेका अल-सब्रा र अल-जेइटाउन छिमेकमा बुबी-ट्र्याप्ड रोबोट प्रयोग गरी विस्फोटक उपकरणहरू विस्फोट गराइरहेको छ ।
