प्रधानमन्त्री ओली आज चीन प्रस्थान, एससिओ सम्मेलनमा सी र पुटिनसहितका शीर्ष नेतासँग भेटवार्ता हुने
काठमाडौँ, १४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली साङ्घाइ सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन आज चीन प्रस्थान गर्दै हुनुहुन्छ । चीनको जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले उक्त सम्मेलनमा सहभागिता जनाउन लागेको हो ।
प्रधानमन्त्री ओली शनिबार बिहान चीनको तियानमिन सहरमा भदौ १४ देखि १८ गते (अगष्ट ३० देखि सेप्टेम्बर ३) सम्म हुने एससिओको शिखर सम्मेलनमा सहभागी हुन भ्रमणमा जान लाग्नु भएको हो । । भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित विभिन्न राष्ट्रका प्रमुख तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ताको कार्यक्रम तय भएको छ ।
विश्वकै ठूलो क्षेत्रीय सुरक्षा–आर्थिक सङ्गठनका रूपमा परिचित एससिओको शिखर सम्मेलनमा नेपालको उच्चस्तरीय उपस्थितिले नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै बहुपक्षीय सहकार्यमा नेपालको सक्रिय भूमिकालाई प्रस्तुत गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिइएको छ ।
भेटवार्ता र कार्यक्रमको तालिका:
मन्त्रालयका अनुसार, प्रधानमन्त्री ओलीले आजै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीले यस शिखर सम्मेलनका साथै चीनको जनयुद्धमार्फत जापानी आक्रमण विरुद्धको प्रतिरोध र विश्व फासिवादविरोधी युद्धमा विजयको ८०औँ वार्षिकोत्सवमा समेत सहभागिता जनाउनुहुनेछ ।
भ्रमण कार्यतालिका अनुसार,
-
भदौ १६ गते (सेप्टेम्बर १): प्रधानमन्त्री ओलीले तियानमिनमा आयोजना हुने एससिओ शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ । सो अवसरमा उहाँले शिखर सम्मेलनमा सहभागी विश्वका केही नेताहरूसँग भेटवार्ता गर्नुहुनेछ । हालसम्म चीन र रुसका साथै भियतनाम, माल्दिभ्स, लाओ पिपुल्स र क्याम्बोडियाका राष्ट्र÷सरकार प्रमुुखसँग भेटवार्ता गर्ने तय भएको उल्लेख छ ।
-
भदौ १७ गते (सेप्टेम्बर २): प्रधानमन्त्री ओली तियानमिनबाट बेइजिङ प्रस्थान गर्नुहुनेछ । उहाँले बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्नुहुनेछ ।
-
भदौ १८ गते (सेप्टेम्बर ३): प्रधानमन्त्री ओली बेइजिङमा आयोजना हुने जापानी आक्रमण विरुद्धको प्रतिरोध युद्ध र विश्व फासिवाद विरोधी युद्धमा विजयको ८०औँ वार्षिकोत्सवको स्मृति कार्यक्रमको परेडमा समेत सहभागिता जनाउनुहुनेछ । भ्रमण दल सोही दिन राति स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीसँगै भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, नेकपा एमालेका सांसद छविलाल विश्वकर्मा तथा नेपाल सरकारका उच्चस्तरीय अधिकारीहरू रहनेछन् ।
