नवीकरणीय उर्जा प्रवाहका लागि विद्युत सञ्जाल प्रयोग गर्दा ४० प्रतिशत सहुलितय दिने मलेसिया सरकारको निर्णय
काठमाडौँ, भदौ १४ । मलेसिया सरकारले नवीकरणीय ऊर्जा (हरित ऊर्जा) को प्रबर्द्धनका लागि महत्त्वपूर्ण कदम चालेको छ । ऊर्जा रूपान्तरण तथा पानी मन्त्रालयले नवीकरणीय ऊर्जा प्रवाहका लागि विद्युत् सञ्जालको प्रयोगबापत लाग्ने शुल्कमा ४० प्रतिशतसम्म कटौती गरेको घोषणा गरेको छ । यो निर्णय दुईवटा विशेष योजनाअन्तर्गत लागू गरिएको हो ।
शुक्रबार प्रकाशित विज्ञप्तिअनुसार, मन्त्रालयले चालु वर्षको अगस्त १ गतेदेखि लागू हुने गरी नयाँ विद्युत् दर संरचनाअन्तर्गत प्रणाली पहुँच शुल्क र सामुदायिक पहुँच शुल्कमा पुनरावलोकन गरी समायोजन गरेको छ । यस समायोजनको मुख्य उद्देश्य शुल्क गणनामा पारदर्शिता कायम गर्नुका साथै उपभोक्तामाथि दोहोरो आर्थिक भार नपर्ने व्यवस्था मिलाउनु रहेको बताइएको छ ।
विवरणअनुसार, “सामुदायिक नवीकरणीय ऊर्जा समूह संयन्त्र” अन्तर्गत लाग्ने पहुँच शुल्क पहिलेको १५ साना इकाइबाट घटाएर ९ साना इकाइ निर्धारण गरिएको छ। यसले साना उत्पादक तथा समुदायहरूलाई नवीकरणीय ऊर्जामा लगानी गर्न प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, “कर्पोरेट नवीकरणीय ऊर्जा आपूर्ति योजना” अन्तर्गत पनि शुल्कमा ठूलो कटौती गरिएको छ। पक्का आपूर्तिका लागि प्रणाली पहुँच शुल्क २५ साना इकाइबाट घटाएर २० साना इकाइ कायम गरिएको छ। आपूर्तिका लागि भने ४५ साना इकाइबाट घटाएर ४० साना इकाइ निर्धारण गरिएको छ।
मन्त्रालयले यो निर्णयले देशभित्र हरित ऊर्जाको प्रबर्द्धनमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेको छ। यसले निजी तथा संस्थागत लगानीकर्ताहरूलाई नवीकरणीय ऊर्जा क्षेत्रमा आकर्षित गर्ने र मलेसियाको दीगो ऊर्जा लक्ष्य प्राप्तिमा सहयोगी हुने अपेक्षा गरिएको छ। यो कदमले मलेसियालाई हरित अर्थतन्त्रतर्फ उन्मुख गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्लेषण गरिएको छ।
