युक्रेनका पूर्वसभामुख आन्द्रिय भोलोदिमिरोभिच परूबियको गोली हानी हत्या

एजेन्सी, १५ भदाै । युक्रेनका पूर्वसभामुख आन्द्रिय भोलोदिमिरोभिच परूबियको शनिबार पश्चिमी सहर लिविभमा गोली हानी हत्या भएको छ। एक संदिग्ध व्यक्तिले मध्याह्नमा परूबियमाथि अन्धाधुन्ध गोली चलाएर उनको हत्या गरेको हो।

रोयटर्स समाचार संस्थाले युक्रेनी प्रहरीलाई उद्धृत गर्दै लेखेअनुसार, ५४ वर्षीय परूबियको घटनास्थलमै मृत्यु भएको थियो। हत्यारा गोली चलाएर फरार भएका थिए र उनको खोजीका लागि प्रहरी परिचालन गरिएको छ।

परूबिय युक्रेनी संसदका एक सक्रिय सदस्य थिए। उनले सन् २०१६ अप्रिलदेखि २०१९ अगस्टसम्म सभामुखको रूपमा काम गरेका थिए। सन् २०१४ मा पूर्वी युक्रेनमा युद्ध सुरु हुँदा र रूसले क्राइमिया कब्जा गर्दा उनी राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद् (NSDC) का सचिव पनि थिए। परूबिय सन् १९९१ मा स्थापना भएको सोसल नेशनल पार्टीका सह-संस्थापक पनि थिए।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले परूबियको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन्। उनले हत्याराको खोजी र घटनाको छानबिनका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरिएको जानकारी दिएका छन्। युक्रेनी अधिकारीहरूले हालसम्म हत्याराको पहिचान वा हत्याको उद्देश्यबारे कुनै जानकारी सार्वजनिक गरेका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *