इम्बोस्ड नम्बर प्लेट ९ वटा यातायात कार्यालयबाट जडान, ७ वटा कार्यालय असोज १ गतेदेखि थप
काठमाडाैं, १५ भदाै । सरकारले इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेसँगै अहिले देशभरका ९ वटा यातायात कार्यालयबाट यसको जडान भइरहेको छ।
यातायात व्यवस्था विभागका अनुसार, बागमती प्रदेशमा एकान्तकुना ललितपुर, हेटौंडा मकवानपुर, गुर्जुधारा र टेकुमा इम्बोस्ड नम्बर प्लेट जडान भइरहेको छ।
त्यस्तै, गण्डकी प्रदेशमा कास्की पोखरा, लुम्बिनी प्रदेशमा रुपन्देही बुटवल, दाङ तुल्सीपुर र नेपालगञ्ज बाँकेबाट पनि जडान कार्य जारी छ। कर्णाली प्रदेशमा सुर्खेतबाट यो सेवा उपलब्ध छ।
विभागले जनाएअनुसार असोज १ गतेदेखि थप ७ वटा कार्यालयबाट इम्बोस्ड नम्बर प्लेट जडान गरिनेछ।
सुदूरपश्चिममा धनगढी र कञ्चनपुर, मधेशमा लहान सिरहा, बागमतीमा चितवन, र कोशी प्रदेशमा सुनसरी इटहरी र झापा बिर्तामोडमा यो सेवा सुरु हुनेछ।
संघ र प्रदेशका मन्त्रीस्तरीय समितिले असोज १ गतेदेखि सवारीसाधन दर्ता, नामसारी वा नवीकरणमा इम्बोस्ड नम्बर अनिवार्य गरेको छ। यसबाट भविष्यमा सबै सवारीसाधनको विवरण डिजिटाइज हुने र सवारीसाधन अनुगमनका लागि देशभर १० स्थानमा आरएफआईडी गेट निर्माण गरिनेछ, जसमध्ये काठमाडौंमा २ स्थानमा निर्माण सम्पन्न भइसकेको छ।