हिंसाबाट बच्न भाग्ने क्रममा डुङ्गा दुर्घटना हुँदा नाइजेरियामा १५ बालबालिकाको मृत्यु, २५ वेपत्ता
काठमाडौँ, भदौ १५ । नाइजेरियाको उत्तरी राज्य जाम्फारामा भएको सामूहिक हिंसाबाट बच्न भाग्ने क्रममा एक डुङ्गा दुर्घटना हुँदा कम्तीमा १५ बालबालिकाको ज्यान गएको छ भने २५ जना वेपत्ता छन् । अधिकारीहरू र प्रत्यक्षदर्शीहरूले आइतबार एएफपीलाई दिएको जानकारीअनुसार यो घटना जाम्फाराको गुम्मी क्षेत्रमा भएको हो ।
नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा आपराधिक गिरोहहरूले निरन्तर हिंसा मच्चाउँदै आएका छन् । यी गिरोहहरूले गाईवस्तु चोरी, गाउँहरूमा लुटपाट र आगजनी तथा फिरौतीका लागि अपहरणजस्ता गतिविधि गर्दै आएका छन् । गएको शुक्रबार गुम्मी क्षेत्रका तीनवटा गाउँमा भएको आक्रमणपछि स्थानीय बासिन्दा ज्यान जोगाउन भाग्ने क्रममा यो दुर्घटना भएको हो । नसरवार किर्फी गाउँका प्रमुख मोहम्मदु चिगारीका अनुसार, नदी तर्ने क्रममा डुङ्गा पल्टिँदा १५ जना यात्रुको डुबेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा मुख्यतया महिला र बालबालिका रहेका छन् । चिगारीले आठ महिला, तीन बालबालिका र चार पुरुषको मृत्यु भएको जानकारी दिए । तीन जनाको भने सकुशल उद्धार गरिएको छ । अर्का स्थानीय सुलेमान दङ्गालादिमाका अनुसार डाँकुहरूको आक्रमणपछि दमागा, तुङ्गर मैगुनिया र नसरवार किर्फी गाउँका बासिन्दाहरू घर छोडेर भागेका थिए ।
नाइजेरियाको आपतकालीन निकाय (नेमा) का निर्देशक अलियु सेहुले घटनाको पुष्टि गर्दै उद्धारकर्मीहरू घटनास्थलमा पुगेर सूचना सङ्कलन गर्ने र जीवित रहेकाहरूलाई सहयोग प्रदान गर्ने तयारी गरिरहेको बताए।
