रुसी ड्रोन हमलापछि युक्रेनका ६० हजार परिवार अन्धकारमा, जेलेन्स्कीद्वारा कडा जवाफको चेतावनी

काठमाडौँ, भदौ १६ । रुसले युक्रेनका विद्युत गृहहरूमा ड्रोन हमला गरेपछि करिब ६० हजार युक्रेनी परिवार विद्युतविहीन भएका छन् । आइतबार रुसले युक्रेनमा १४६ वटा ड्रोन आक्रमण गरेको थियो । तीमध्ये अधिकांश ड्रोन युक्रेनी प्रतिरक्षा प्रणालीले निस्तेज पारे पनि १० ठाउँमा भने क्षति पुर्‍याएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यी ड्रोनहरू युक्रेनको ओडेसामा रहेका चार ऊर्जा संरचनामा खसेका थिए । जसले विद्युत गृहमा क्षति पुर्‍याउँदा करिब ३० हजार उपभोक्ता बिजुलीविहीन बनेका थिए । ओडेसाको तटीय सहर चोर्नोमोर्स्कमा घर र व्यापारिक भवनहरूमा समेत क्षति पुगेको गभर्नर ओलेह किपरले टेलिग्राममार्फत जानकारी दिनुभएको छ । उहाँले महत्वपूर्ण संरचनाहरू जेनेरेटरको भरमा चलेको र यस आक्रमणमा एक जना घाइते भएको बताउनुभएको छ ।

आइतबार बिहान उत्तरी चेरनिहिभ क्षेत्रको अर्को विद्युत गृहमा पनि ड्रोन आक्रमण हुँदा ३० हजार घरधुरी विद्युतविहीन भएको रोयटर्सले उल्लेख गरेको छ ।

रुसको रक्षा मन्त्रालयले भने युक्रेनी बन्दरगाह संरचनाहरू नष्ट गरेको र ती संरचना सैन्य प्रयोजनका लागि प्रयोग भइरहेको दाबी गरेको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई कडा जवाफ दिने चेतावनी दिनुभएको छ। उहाँले जवाफको रणनीति तयार भइसकेको बताउँदै भन्नुभयो, “रुसविरुद्ध जस्तो आवश्यक हुन्छ, त्यसरी नै सक्रिय अभियान जारी रहनेछ। त्यसका लागि नयाँ गहिरा प्रहारहरूको योजना तयार छ ।”

पछिल्ला हप्ताहरूमा दुवै पक्षले हवाई आक्रमण तीव्र पारेका छन् । रुसले युक्रेनका ऊर्जा र यातायात प्रणालीलाई निशाना बनाइरहेको छ भने युक्रेनले रुसी तेल प्रशोधन केन्द्र र पाइपलाइनमाथि आक्रमण गरिरहेको छ ।

क्रेमलिनले युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको पहलमा युरोपेली मुलुकहरूले अवरोध गरेको आरोप लगाएको छ । उसले किभ वार्ताका लागि तयार भएको ठोस संकेत नआएसम्म आक्रमण जारी राख्ने बताएको छ।

युक्रेनी सेनाले भने रुसले ग्रीष्मकालीन आक्रमणमा ठूलो सफलता पाएको दाबी अतिरञ्जित भएको भन्दै अहिलेसम्म कुनै प्रमुख सहरमाथि पूर्ण नियन्त्रण नजमाएको दाबी गरेको छ ।

रुसले पछिल्ला साताभित्रै दुई पटक ठूलो आक्रमण गरी दर्जनौं सर्वसाधारणको ज्यान लिएको र शहरी संरचना नष्ट गरेको युक्रेनको आरोप छ। “युद्ध चाहने एक मात्र देश रुस हो । त्यसैले दबाब जारी रहन्छ । यो युद्धले विश्व प्रक्रियामै अस्थिरता ल्याएको छ, त्यसको मूल्य उसले तिर्नुपर्नेछ,” जेलेन्स्कीले भन्नुभयो। उहाँले अमेरिका, युरोप र जी-२० राष्ट्रको बलियो समर्थनको अपेक्षा गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *