रुसी जीपीएस जामका कारण बुल्गेरियामा इयू प्रमुखको विमान अवतरणमा समस्या

काठमाडौँ, भदौ १६ । बुल्गेरियामा अवतरणको तयारीमा रहेको युरोपेली सङ्घ (इयू) प्रमुख उर्सुला भोन डेर लेयेन चढेको विमानलाई ‘जीपीएस जाम’ हुँदा अवतरणमा समस्या भएको छ । युरोपेली आयोगले सोमबार यस घटनामा रुसको संलग्नताको आशङ्का व्यक्त गरेको छ ।

आयोगका अनुसार, बुल्गेरियाली अधिकारीहरूले आइतबारको यस घटनाका लागि मस्को जिम्मेवार रहेको विश्वास गरेका छन् । यद्यपि, उक्त क्षेत्रमा यस्ता जीपीएस जामका आक्रमणहरू सामान्य भएकाले विमानलाई जानाजानी निशाना बनाइएको हो वा होइन भन्ने स्पष्ट नभएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता एरियाना पोडेस्टाले पत्रकार सम्मेलनमा भन्नुभयो, “हामी पुष्टि गर्न सक्छौँ, त्यहाँ वास्तवमै जीपीएस जाम भएको थियो ।”

उक्त चार्टर्ड विमानले रुट परिवर्तन नगरी देशको दक्षिणमा रहेको प्लोभडिभ अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको थियो । ६६ वर्षीया आयोग अध्यक्ष भोन डेर लेयेन युरोपेली सङ्घका सात देशको भ्रमणका लागि बुल्गेरियामा अवतरण गर्ने क्रममा यो घटना भएको हो । २७ राष्ट्रहरूको समूह (इयू) को पूर्वी क्षेत्रमा रहेको बुल्गेरियामा रुसका कारण सिर्जित यस्ता खतराहरू बारम्बार देखिने गरेका छन् । प्रवक्ता पोडेस्टाले यस क्षेत्रले “धेरै अवरोधजन्य गतिविधिहरू” अनुभव गरेको र रुसले नै यो हस्तक्षेप गरेको आशङ्का बुल्गेरियाली अधिकारीहरूले गरेको बताउनुभयो ।

निरन्तर चेतावनी

बुल्गेरियाली सरकारले पनि उक्त घटनाको पुष्टि गरेको छ । सरकारी विज्ञप्तिमा भनिएको छ, “युरोपियन आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनलाई लिएर प्लोभडिभतर्फ जाँदै गर्दा विमानको जीपीएस आवागमन प्रणालीमा सूचना सम्प्रेषण गर्ने स्याटेलाइट सङ्केत निस्क्रिय भएको थियो ।” उडानको सुरक्षा सुनिश्चित गर्न एयर कन्ट्रोल सेवाले जमिनमा रहेको अर्को नेभिगेसन उपकरण प्रयोग गरी तत्काल वैकल्पिक अवतरण विधि प्रस्ताव गरेको पनि विज्ञप्तिमा उल्लेख छ । यस घटनाको पहिलो रिपोर्टिङ गर्ने फाइनान्सियल टाइम्स पत्रिकाले विमानलाई कागजी नक्सा प्रयोग गरेर अवतरण गर्न बाध्य पारिएको जनाएको छ ।

आयोगले भोन डेर लेयेनको भ्रमणलाई रुस वा उसको सहयोगी बेलारुससँगको निकटताका कारण “चुनौतीको सामना गरिरहेका” सदस्य राष्ट्रहरूका लागि समर्थनको प्रदर्शनको रूपमा व्याख्या गरेको छ । पोडेस्टाले भन्नुभयो, “निरन्तर धम्की रुसको शत्रुतापूर्ण व्यवहारको नियमित विशेषता हो ।” उहाँले यो घटनाले युक्रेनका लागि प्रतिरक्षा क्षमता र समर्थन बढाउने इयूको अटुट प्रतिबद्धतालाई अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

मस्कोले युक्रेनमाथि आक्रमण गरेपछि युरोपले सैन्य खर्च बढाएको छ र प्रतिरक्षा तयारी सुधार गर्न खोजिरहेको छ । यो घटना साढे तीन वर्षको युद्धमा युद्धविराम सम्झौता भएमा युक्रेनको सुरक्षाको प्रत्याभूति कसरी दिने भन्ने विषयमा पश्चिमा शक्तिहरूले छलफल गरिरहेका बेला भएको हो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको सुरुमा रुससँग वार्ता गर्न अघि बढे पनि युद्ध अन्त्यका लागि कूटनीतिक प्रयासले गति लिन सकेको छैन । मस्कोले उपयुक्त निकासका लागि सहमति नजनाउँदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच हुने सम्भावित बैठक अवरुद्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *