युरोपेली आयोग अध्यक्ष चढेको विमानको जिपिएस अवरूद्ध, कागजी नक्सा प्रयोग गरेर अवतरण; रुसी हस्तक्षेपको आशंका
ब्रसेल्स/प्लोभडिभ, बुल्गेरिया । युरोपेली आयोगकी अध्यक्ष उर्सला भोन डेर लेयन सवार विमानको ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) प्रणाली शंकास्पद रुसी आक्रमणका कारण अवरूद्ध भएपछि कागजी नक्साको सहायताले अवतरण गरिएको छ। यो घटना युरोप र ब्ल्याक सी क्षेत्रमा रुसद्वारा बढ्दै गएको इलेक्ट्रोनिक युद्धको आशंकालाई थप बल पुर्याएको छ।
फाइनान्सियल टाइम्सले तीन अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार, आइतबार दिउँसो बुल्गेरियाको प्लोभडिभतर्फ जाँदै गरेको भोन डेर लेयनको जेट विमानको जिपिएस प्रणालीमा अचानक समस्या देखिएको थियो। प्रणाली नचलेपछि विमानका चालक दलले परम्परागत कागजी नक्सा प्रयोग गरेर अवतरण गर्न बाध्य भएका थिए।
एक अधिकारीले फाइनान्सियल टाइम्ससँग कुरा गर्दै भने, “हवाईअड्डा क्षेत्रको सम्पूर्ण जिपिएस अन्धकारमा गयो। हवाईअड्डाको वरिपरि एक घण्टासम्म चक्कर लगाएपछि विमानका पाइलटले ‘एनालग’ नक्सा प्रयोग गरेर म्यानुअल रूपमा विमान अवतरण गर्ने निर्णय लिए। यो निर्विवाद हस्तक्षेप थियो।”
यस घटनाको पुष्टि बुल्गेरियाको हवाई यातायात सेवा प्राधिकरणले फाइनान्सियल टाइम्सलाई दिएको बयानमा पनि गरेको छ। प्राधिकरणले भनेको छ, “सन् २०२२ को फेब्रुअरीदेखि, [जिपिएस] ‘ज्यामिङ’ र हालै ‘स्पूफिङ’ घटनाहरूमा उल्लेखनीय वृद्धि भएको छ। यी हस्तक्षेपहरूले [जिपिएस] सिग्नलहरूको सटिक प्राप्तिलाई अवरूद्ध गर्छ, जसले विमान र भू-प्रणालीहरूका लागि विभिन्न परिचालन चुनौतीहरू निम्त्याउँछ।”
युरोपेली आयोगले पनि पछि यो घटनाको पुष्टि गर्दै जिपिएस ज्यामिङ भएको तर विमान बुल्गेरियामा सुरक्षित रूपमा अवतरण गरेको बताएको छ। आयोगका एक प्रवक्ताले भने, “हामीलाई बुल्गेरियाली अधिकारीहरूबाट जानकारी प्राप्त भएको छ कि उनीहरूले यो रूसको स्पष्ट हस्तक्षेपका कारण भएको शंका गरेका छन्। हामी रूसको शत्रुतापूर्ण व्यवहारको नियमित हिस्सा रहेको धम्की र त्रासको बारेमा सचेत छौं र त्यसबारे अभ्यस्त छौं।”
यता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले भने सो आरोपको खण्डन गरेको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ।
भूउपग्रह-आधारित जिपिएस प्रणालीलाई नचल्ने पार्ने ‘ज्यामिङ’ (सिग्नल अवरूद्ध गर्ने) र ‘स्पूफिङ’ (झूटो सिग्नल पठाएर भ्रामक जानकारी दिने) परम्परागत रूपमा विकसित देशका सैन्य र गुप्तचर निकायहरूले संवेदनशील स्थानहरूको सुरक्षाका लागि प्रयोग गर्दै आएका छन्। तर, पश्चिमा देशहरूले हालै रूसजस्ता देशहरूले नागरिक जीवनलाई अवरूद्ध गर्ने साधनको रूपमा पनि यसको व्यापक प्रयोग गरिरहेको दाबी गर्ने गरेका छन्। युक्रेन युद्ध सुरु भएयता युरोप र ब्ल्याक सी क्षेत्रमा यस्ता घटनाहरूमा उल्लेखनीय वृद्धि भएको पाइएको छ।(न्यूज एजेन्सी)
