सन् २०२५ मा युरोपेली संघको रक्षा बजेट ३८१ अर्ब युरो पुग्ने : रुसको खतरा र ट्रम्पको दबाब मुख्य कारण
काठमाडौँ, भदौ १७ । युरोपेली सङ्घ (ईयु) को सैन्य खर्च सन् २०२५ मा ३८१ अर्ब युरोको नयाँ रेकर्डमा पुग्ने अपेक्षा गरिएको छ । युरोपेली रक्षा एजेन्सी (ईडीएस) ले मङ्गलबार जनाएअनुसार, रुसको सम्भावित खतरालाई रोक्नका लागि सदस्य राष्ट्रहरूले आफ्नो रक्षा बजेटमा उल्लेख्य वृद्धि गरेका हुन् ।
यस वर्ष ईयुको रक्षा खर्च १० प्रतिशतले बढेको छ । नाटोका युरोपेली सदस्य राष्ट्रहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबमा रक्षा खर्च बढाउने प्रतिबद्धता जनाएपछि यो वृद्धि भएको हो । ईयुका विदेश नीति प्रमुख काजा कल्लासले भन्नुभयो, “युरोपले आफ्ना जनतालाई सुरक्षित राख्न रक्षामा अभूतपूर्व खर्च गरिरहेको छ र यो केवल सुरुवात मात्र हो ।”
ईडीएसका अनुसार, यस वर्षको कुल रक्षा बजेटमध्ये करिब १३० अर्ब युरो नयाँ हतियार लगायतका लगानीमा खर्च भइरहेको छ । सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि युरोपेली मुलुकहरूले रक्षा खर्चमा तीव्र वृद्धि गरेका हुन् । गत हप्ता युरोपेली आयोगले १५० अर्ब युरोको ईयु ऋण योजना पूर्ण रूपमा सदस्यता लिएको जनाएको थियो । जसले सदस्य राष्ट्रहरूलाई रक्षा खर्च बढाउन सहयोग पुर्याउनेछ । सत्ताइस सदस्य राष्ट्रमध्ये १९ ले यस कोषमा आवेदन दिएका छन् । यो सुरक्षित योजनाले देशहरूलाई ईयुको केन्द्रीय बजेटको ग्यारेन्टीमा सस्तो ऋण प्राप्त गर्न सहज बनाउँछ ।
पश्चिमी सेना र गुप्तचर निकायहरूले युक्रेनमा युद्ध समाप्त भएमा मस्को तीनदेखि पाँच वर्षभित्र कुनै पनि नाटो मुलुकमाथि आक्रमण गर्न सक्षम हुनसक्ने चेतावनी दिँदै आएका छन् ।
यद्यपि, लामो समयदेखि युरोपको न्यून रक्षा खर्चप्रति आलोचक रहेका राष्ट्रपति ट्रम्पको यस वर्ष पुनरागमनले युरोपलाई नयाँ चुनौती थपेको छ । अस्थिर भनिएका अमेरिकी नेताले गत जुलाईमा भएको शिखर सम्मेलनमा नाटो सहयोगीहरूलाई आफ्ना कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को पाँच प्रतिशत सुरक्षा खर्चमा छुट्याउने प्रतिबद्धता गराउन बाध्य पारेका थिए । यो हेडलाइन लक्ष्यअन्तर्गत कोर रक्षा खर्च ३.५ प्रतिशत र पूर्वाधार तथा साइबर सुरक्षा जस्ता क्षेत्रहरूमा १.५ प्रतिशत छुट्याउने व्यवस्था गरिएको छ ।
ईडीएस प्रमुख आन्द्रे डेन्कले भन्नुभयो, “जीडीपीको ३.५ प्रतिशतको नयाँ नाटो लक्ष्य पूरा गर्न अझ बढी प्रयास आवश्यक छ, जसका लागि एक वर्षमै कुल ६३० अर्ब युरोभन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।”
