नक्कली भुटानी शरणार्थी प्रकरण: अभियुक्तविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ बुधबारदेखि

काठमाडौँ, १७ भदाै । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजना बनाएको अपराधका अभियुक्तहरूविरुद्ध दायर मुद्दाको अन्तिम सुनुवाइ बुधबारदेखि हुने भएको छ।

जिल्ला अदालत काठमाडौँमा दुई वर्षदेखि विचाराधीन रहेको उक्त मुद्दा बुधबारदेखि सुनुवाइका लागि पेसी तोकिएको हो।

पछिल्लो समय यो मुद्दामा साक्षी बुझ्ने र बकपत्र गराउने काम सकिएपछि यसलाई साप्ताहिक पेसी सूचीमा राखिएको छ। यस मुद्दामा जिल्ला अदालतका तत्कालीन न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पक्राउ परेकालाई ‘तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार’ देखाउँदै थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो।

पछि केही अभियुक्त उच्च अदालतबाट धरौटी र तारेखमा छुटेका छन् भने केही जिल्ला र उच्च अदालतकै फैसला सदर भएर थुनामै छन्।

यस प्रकरणमा अघिल्ला दुई वर्ष २०८० र २०८१ मा मुद्दाले प्राथमिकता पाएन। तर, २०८२ वैशाखयता मात्रै शरणार्थी प्रकरणको मुद्दामा १० पटक साप्ताहिक र १६ पटक पूरक पेसी चढेको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ठगी, किर्ते, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधको कसुरमा ३० जनाविरुद्ध २०८० जेठ १० गते मुद्दा दायर गरेको थियो।

थुनछेक आदेश भएयता ३२ पटक पेसी चढेकामा २०८२ वैशाखयता मात्रै २२ पटक पेसी तोकिएको छ। त्यसअघि २०८१ मा ७ र २०८० मा ४ पटक पेसी तोकिएको थियो। गृहमन्त्री र गृहसचिवस्तरमा निर्णय गरेर बिचौलियासँगको ‘सेटिङ’ मिलाई नक्कली शरणार्थी सूची बनाएको पोल खुलेपछि प्रहरीले २०७९ चैत १२ गते केशव दुलालसहित केहीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो।

मुद्दामा संलग्न प्रमुख अभियुक्तहरू:
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जना जनाविरुद्ध किर्ते, ठगी, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको थियो।

यसका साथै, २०८१ वैशाख ९ गते पहिले नै प्रतिवादी बनाइएका केशव दुलालसहित ५ जना र २०८१ साउन ४ गते अर्का सन्दिग्ध पात्र बेचन झाविरुद्ध २०८१ साउन २९ गते पूरक मुद्दा अदालत पुगेको थियो।