इतिहासमै पहिलो पटक सी, पुटिन र किम जोङ-उन एकै मञ्चमा
काठमाडौँ, भदौ १८ । दोस्रो विश्वयुद्धको अन्त्य भएको ८० औं वार्षिकोत्सवका अवसरमा चीनले बेइजिङको तियानआनमेन स्क्वायरमा भव्य समारोह आयोजना गर्यो । यस समारोहको मुख्य आकर्षण चिनियाँ राष्ट्रपति सी जिनपिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ-उन एउटै मञ्चमा एकसाथ देखिएको दुर्लभ क्षण रह्यो । परेड अवलोकनका क्रममा किम जोङ-उन, सी र पुटिन एकैसाथ काँधमा काँध मिलाएर हिँडेको देखिएको थियो । अमेरिकी टेलिभिजन नेटवर्क सीएनएनका अनुसार, यी तीन नेता एकसाथ देखिएको यो पहिलो पटक हो । यो उपस्थितिलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले ऐतिहासिक घटनाका रूपमा व्याख्या गरेका छन् ।
सैन्य परेड अवलोकनका लागि विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखहरू उपस्थित हुनुहुन्छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ, इरानका राष्ट्रपति मसउद पेजेश्कियन, मंगोलियाका राष्ट्रपति उखनागिन खुरेल्सुख, इन्डोनेशियाका राष्ट्रपति प्रबोवो सुबियान्तो लगायत एशियाका थुप्रै नेताहरूको उपस्थिति थियो ।
त्यसैगरी काजाकस्तान, उज्बेकिस्तान, ताजिकिस्तान र किर्गिस्तानका नेताहरू पनि सहभागी हुनुहुन्छ । युरोपबाट स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको र सर्बियाका राष्ट्रपति एलेक्जान्डर भुचिच मात्र उपस्थित थिए । अफ्रिका र क्यारेबियन मुलुकहरूबाट पनि प्रतिनिधित्व छ । जसमा क्युबाका राष्ट्रपति मिगेल डियाज-कानेल र माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुको सहभागिता छ ।
नेपाली समयअनुसार बिहान ६:४५ बजे सुरु भएको यस भव्य समारोहमा चिनियाँ राष्ट्रपति सी जिनपिङको उपस्थितिमा हजारौं सैनिकहरूले परेड गरेका थिए । चीनको इतिहासकै सबैभन्दा ठूलो मानिएको यस सैन्य परेडमा शक्तिशाली र अत्याधुनिक हतियारहरूको प्रदर्शन गरिएको थियो । चीनले दोस्रो विश्वयुद्धको अन्त्यको अवसरमा यस्तो भव्य समारोह आयोजना गरेको यो दोस्रो पटक हो ।
पछिल्लो समय चीन र उत्तर कोरियाबीच सम्बन्ध केही चिसिएको आँकलन गरिएका बेला यो भेट महत्त्वपूर्ण मानिएको छ । युक्रेन युद्धपछि उत्तर कोरियाले रूसलाई हतियार र सैन्य सहयोगसमेत गरेको छ । सन् २०२४ मा चीन र उत्तर कोरियाबीच उच्चस्तरीय भेटवार्ता नै नभएको सीएनएनले उल्लेख गरेको थियो । तर, सी आफैंले किम जोङ-उनलाई सैन्य परेडमा सहभागी हुन निमन्त्रणा दिएका थिए । जसपछि किम बुलेटप्रुफ रेल चढेर चीन आइपुगेका थिए ।
तीन नेताहरू काँधमा काँध मिलाएर हिँडेको यस दृश्यलाई विश्व भूराजनीतिमा बढिरहेको ध्रुवीकरणको पृष्ठभूमिमा पश्चिमी मुलुकहरूलाई एक सन्देश दिन खोजिएको सीएनएनले विश्लेषण गरेको छ । यसले चीन र उत्तर कोरियाबीचको सम्बन्धमा सुधार आएको सन्देश पनि दिएको छ । उनीहरूले चीन, रूस र उत्तर कोरिया पश्चिमी मुलुकहरूलाई चुनौती दिने वैकल्पिक विश्व व्यवस्थाका साझेदारका रूपमा आफूलाई प्रस्तुत गरिरहेको अमेरिकी सञ्चारमाध्यमहरूले बताएका छन् । यस दृश्यले तीनै नेता अब एउटै यात्रामा अघि बढेका छन् र उनीहरूको कूटनीतिक वा सैन्य सहकार्य नजिकको भविष्यमा टुट्ने संकेत छैन भन्ने सन्देश दिन खोजिएको अमेरिकी मिडियाहरूले निष्कर्ष निकालेका छन् ।
