अफगानिस्तानमा निरन्तर भूकम्प

काठमाडौँ, भदौ २० । अफगानिस्तानको दक्षिणपूर्वी क्षेत्रमा बिहीबार राति ५.६ म्याग्निच्युडको भूकम्प गएको छ । पछिल्लो ६ दिनभित्र गएको यो तेस्रो भूकम्प हो । भूकम्पको धक्का पाकिस्तानका विभिन्न भागमा पनि महसुस गरिएको थियो । यसअघि गएको भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या निरन्तर बढिरहेको छ।

बीबीसीका अनुसार बिहीबार राति ८:५६ बजे (स्थानीय समय) गएको भूकम्पले नंगरहार र कुनार प्रान्तका बासिन्दाहरूलाई त्रसित बनाएको थियो । उनीहरू आफ्नो आश्रयस्थलबाट बाहिर निस्किएका थिए ।

बिहीबारको भूकम्पबाट भएको धनजनको क्षतिको आधिकारिक पुष्टि भएको छैन । तर, स्थानीय चिकित्सकहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार अस्पतालमा १७ जना घाइतेको उपचार गरिएको छ । संयुक्त राष्ट्रको मानवीय मामिला समन्वय कार्यालयका अनुसार आइतबार गएको भूकम्पमा परी हालसम्म १,३६८ जनाको मृत्यु भएको छ भने २,१८० जना घाइते भएका छन् । यी तथ्याङ्क २५ वटा गाउँबाट प्राप्त प्रतिवेदनमा आधारित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *