जापानमा उपभोग खर्चमा वृद्धि : अर्थतन्त्रमा सुधारको संकेत

काठमाडौँ, भदौ २० । जापानको अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ । जुलाई महिनामा दुई वा सोभन्दा बढी सदस्य भएका घरपरिवारको घरेलु खर्चमा १.४ प्रतिशतले वृद्धि भएको छ । यो पछिल्ला तीन महिनायताको लगातार वृद्धि हो, जसलाई उपभोग सुधारको सकारात्मक संकेतका रूपमा हेरिएको छ ।

जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार, जुलाई महिनामा यस्ता घरपरिवारले औसतमा ३ लाख ५ हजार ६ सय ९४ येन (करिब २ हजार ६३ अमेरिकी डलर) खर्च गरेका थिए । सिजनअनुसार समायोजन गरिएपछि मासिक आधारमा हेर्दा, जुलाईमा घरेलु खर्च १.७ प्रतिशतले बढेको देखिन्छ ।

मन्त्रालयका एक अधिकारीले जनाएअनुसार, यो वृद्धि मुख्यतया बिजुलीको बढ्दो महसुल र सवारी साधनसम्बन्धी खर्चका कारण भएको हो ।  यद्यपि, मूल्यवृद्धिका कारण खाद्य वस्तुहरूमा खर्च भने घटेको छ । अधिकारीले उपभोगमा सुधार देखिए पनि यो अझै सशक्त रूपमा अगाडि बढ्न नसकेको बताउनुभयो ।

जापानको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा घरेलु खर्चको ५० प्रतिशतभन्दा बढी योगदान रहने भएकाले, घरेलु उपभोगलाई आर्थिक सूचकको रूपमा निकै महत्वपूर्ण मानिन्छ । यस वृद्धिलाई जापानी अर्थतन्त्रका लागि सकारात्मक कदमका रूपमा लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *