भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे पत्नीसहित अयोध्यामा : नालन्दा संस्कृति संरक्षणमा जोड

काठमाडौँ, भदौ २० ।  भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र उहाँकी पत्नी ओम ताशी डोमासहितको भुटानी टोली शुक्रबार भारतको अयोध्या आइपुगेको छ । उत्तर प्रदेशका मन्त्री सूर्य प्रताप शाहीले विमानस्थलमा भुटानी टोलीलाई स्वागत गर्नुभएको थियो । अयोध्या भ्रमणका क्रममा प्रधानमन्त्री तोब्गेले श्री राम लल्ला, हनुमानगढी र अन्य मन्दिरहरूमा पूजा गर्ने कार्यक्रम रहेको छ ।

अयोध्याको आध्यात्मिक भ्रमणका क्रममा प्रधानमन्त्री तोब्गेले बिहारको प्राचीन शिक्षामा निहित ‘नालन्दा संस्कृति’ को संरक्षणमा जोड दिनुभएको छ । उहाँले भुटानले यसको प्रसार र संरक्षणमा आफ्नो भूमिका खेल्ने आश्वासन दिनुभयो । स्वागत कार्यक्रममा बोल्दै तोब्गेले नालन्दा महाविहारको परम्परालाई निरन्तरता दिँदै भुटानलाई राजगिरमा मन्दिर निर्माण गर्ने अवसर दिएकोमा भारत सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले राजगिर भ्रमण गर्ने अवसर दिएकोमा पनि आभार व्यक्त गर्नुभयो ।

नालन्दालाई विगतको विश्वविद्यालय मात्र नभई शान्ति, एकता र आध्यात्मिकताको स्तम्भ भएको र यसले विश्वलाई निरन्तर प्रेरणा दिइरहेको प्रधानमन्त्री तोब्गेले बताउनुभयो । वज्रयान बौद्ध राज्यको रूपमा भुटानले आध्यात्मिक र सांस्कृतिक परम्परालाई संरक्षण गर्न नालन्दाको भूमिकालाई सम्मान गर्दै नालन्दासँगको सहकार्य र ऐतिहासिक सम्बन्ध विस्तार गर्ने उहाँले उल्लेख गर्नुभयो ।

विदेश मन्त्रालय (एमइए) का अनुसार प्रधानमन्त्री छिरिङ तोब्गे र उहाँकी पत्नी ओम ताशी डोमा सेप्टेम्बर ३ देखि ६ सम्म भारतको आधिकारिक भ्रमणमा रहनेछन् । यो भ्रमण तोब्गेको फेब्रुअरी २० देखि २१ सम्मको भारत भ्रमणपछि भएको हो । जसमा, उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको ‘स्कुल अफ अल्टिमेट लिडरसिप (सोल)’ को उद्घाटन नेतृत्व सम्मेलनमा भाग लिनुभएको थियो । विदेश मन्त्रालयले यो भ्रमणले भारत र भुटानबीचको सहयोग र सम्बन्धलाई थप सुदृढ बनाएको जनाएको छ ।

अघिल्लो भ्रमणका क्रममा प्रधानमन्त्री तोब्गेले प्रधानमन्त्री मोदीसँग वार्ता गर्नुभएको थियो भने रेलमन्त्री अश्विनी वैष्णव, संसदीय मामिला मन्त्री किरेन रिजिजु, विदेश राज्यमन्त्री पबित्र मार्गेरिटा र भारत सरकारका अन्य वरिष्ठ अधिकारीहरूसँग पनि भेटघाट गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *