सुडानको सुन खानी दुर्घटना : ६ जनाको मृत्यु, दर्जनौं बेपत्ता

काठमाडौँ, भदौ २१ ।  उत्तरी सुडानमा एउटा सुन खानी भत्किँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने २० जनासम्म बेपत्ता भएको आशंका गरिएको छ । रिवर नाइल राज्यको बर्बर सहर नजिकैको उम आउद क्षेत्रमा रहेको खानीमा शुक्रबार यो दुर्घटना भएको बर्बर स्थानीय निकायका कार्यकारी निर्देशक हसन इब्राहिम करारले जानकारी दिएका छन् ।

करारका अनुसार बेपत्ता भएकाहरुको उद्धार कार्य जारी छ, यद्यपि खानी भत्किनुको कारणबारे विस्तृत जानकारी दिइएको छैन।

सुडानमा अप्रिल २०२३ देखि सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (RSF) बीच जारी युद्धले देशको सुन उद्योगलाई ठूलो प्रभाव पारेको छ। दुवै पक्षले आफ्नो संघर्षका लागि सुन उद्योगबाट आर्थिक स्रोत जुटाइरहेका छन्।

अधिकारीहरू र गैर-सरकारी संस्थाहरूका अनुसार, सुडानको अधिकांश सुन संयुक्त अरब इमिरेट्समार्फत निर्यात हुन्छ। युएइमाथि आरएसपीलाई हतियार आपूर्ति गरेको आरोप लागेको छ । यद्यपिले यो आरोप अस्वीकार गरेको छ ।

युद्धका बाबजुद, सेना-समर्थित सरकारले २०२४ मा ६४ टन सुन उत्पादनको कीर्तिमान घोषणा गरेको थियो। तर यहाँको अधिकांश सुन अव्यवस्थित र साना खानीहरूबाट निकालिन्छ, जहाँ सुरक्षा उपायको कमी र खतरनाक रसायनको प्रयोगले खानी कामदारहरू र वरपरका समुदायहरूको स्वास्थ्यमा गम्भीर जोखिम पुर्‍याउँछ ।

सुडानको युद्धले २५ लाखभन्दा बढी मानिसलाई भोकमरीको उच्च जोखिममा धकेलेको छ। विशेषज्ञहरूका अनुसार, युद्धका दुवै पक्षले उत्पादन गरेको अधिकांश सुन चाड, दक्षिण सुडान र इजिप्ट हुँदै पुग्छ । जुन अहिले विश्वको दोस्रो ठूलो सुन निर्यातक हो ।

यस युद्धमा हजारौंको ज्यान गइसकेको छ र लगभग १० लाख मानिस विस्थापित भएका छन्। यसबाहेक, चार लाखभन्दा बढी सुडानीहरूले शरणका लागि सीमा पार गरेका छन् ।