जर्जियाको हुन्डाइ कारखानाबाट ४७५ अवैध आप्रवासी पक्राउ : दक्षिण कोरिया आक्रोशित

काठमाडौँ, भदौ २२ । अमेरिकाको जर्जिया राज्यस्थित ब्रायन काउन्टीमा निर्माणाधीन हुन्डाइको ब्याट्री कारखानाबाट बिहीबार एकैपटक ४७५ जना अवैध आप्रवासी पक्राउ परेका छन् । यो घटनालाई ट्रम्प प्रशासनपछि अवैध आप्रवासीविरुद्धको अभियानमा भएको सबैभन्दा ठूलो छापा मानिएको छ ।  जसले गर्दा अमेरिका र उसका प्रमुख एसियाली सहयोगी दक्षिण कोरियाबीच कूटनीतिक तनाव उत्पन्न भएको छ ।

अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन (आइसिई) र होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेसन (एचएसआई) का करिब ५०० जना अधिकारीहरू एकाएक कारखानाभित्र छिरेपछि त्यहाँको दृश्य युद्धमैदानभन्दा कम थिएन । सीएनएनका अनुसार, छापाको खबर फैलिएलगत्तै आप्रवासीहरूमा भागाभाग मच्चियो । कोही नजिकैको पोखरीमा हामफाले भने कोही भेन्टिलेसन पाइपभित्र लुके। वैध आप्रवासीहरू पनि आतंकित भई भागेका थिए ।

ठूलो संख्यामा उपस्थित सुरक्षाकर्मीहरूले उनीहरूलाई चारैतिरबाट घेरेर नियन्त्रणमा लिए । पोखरीमा हामफालेकाहरूलाई डुंगाको प्रयोग गरी बाहिर निकालियो । केही बेरमै ५०० भन्दा बढी आप्रवासीहरूलाई समातेर कारखानाको पर्खालका भित्तामा लाइन लगाइयो ।

एकजना कामदारले सीएनएनसँग कुरा गर्दै बिहीबारको त्यो दृश्यलाई युद्धक्षेत्रजस्तै भनेका छन् । उनका अनुसार, सुरक्षाकर्मीहरूले मास्क लगाएका थिए र उनीहरूको हातमा हतियार पनि थियो । “एकजना कामदार ‘अध्यागमन आयो’ भनेर चिच्याउँदै भित्र छिरे । त्यसपछि त्यहाँ भागाभाग हुन थाल्यो। हामी भेन्टिलेसन पाइपभित्र छिर्‍यौं। त्यहाँ साँच्चै अत्यन्तै गर्मी थियो,” उनले भने ।

अर्का कामदारका अनुसार सुरक्षा अधिकारीहरूले आप्रवासीलाई पर्खालछेउ एक घन्टाभन्दा बढी समय उभ्याएका थिए । त्यसपछि प्रत्येक कामदारसँग व्यक्तिगत सोधपुछ गरियो । जसमा सामाजिक सुरक्षा कार्ड नम्बर र जन्म मितिबारे जानकारी मागिएको थियो । वैध कागजात हुनेहरूलाई ‘क्लिअर टु डिपार्ट’ लेखिएको चिर्कटो दिएर छाडियो । जसलाई देखाएर मात्र कारखानाबाट बाहिर निस्कन पाइन्थ्यो ।  अवैधहरूलाई भने हात, खुट्टा र जिउमा नेल बाँधेर गाडीमा हाली फल्कस्टनस्थित आइसिईको कार्यालयमा लगियो । सम्पूर्ण प्रक्रिया सकिँदा रातिको ८ बजिसकेको थियो ।

दक्षिण कोरियाको कूटनीतिक आक्रोश:

पक्राउ परेका मध्ये धेरैजसो आप्रवासी कोरियाली रहेका छन् । सीएनएनका अनुसार, झन्डै ३०० जना दक्षिण कोरियाका, २३ जना मेक्सिकोका र बाँकी अन्य देशका छन् ।

अमेरिकामा ठूलो संख्यामा आफ्ना देशका नागरिक पक्राउ परेपछि दक्षिण कोरियाका राष्ट्रपति ली जाए–म्युङले उनीहरूको सहयोगका लागि आवश्यक सबै काम सरकारले गर्ने बताएका छन् । उनले सउलमा आपतकालीन बैठक पनि बोलाएका थिए । दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनले राष्ट्रपतिले अमेरिकामै आवश्यक सबै काम गर्न निर्देशन दिएको र आवश्यकता परे आफू वासिङ्टन डीसी गएर अमेरिकी अधिकारीहरूसँग सिधा कुरा गर्न तयार रहेको बताएका छन् ।

विशेषगरी अमेरिकी अधिकारीहरूले आफ्ना नागरिकलाई गरेको व्यवहारप्रति दक्षिण कोरियाले ध्यानाकर्षण भएको बताएको छ । हातमा हत्कडी, खुट्टा र जिउमा नेल बाँधेर अमानवीय व्यवहार गरिएको भन्दै दक्षिण कोरियाले आपत्ति जनाएको छ ।

यो घटनाले ट्रम्प प्रशासन र प्रमुख एसियाली सहयोगी तथा लगानीकर्ता सियोलबीचको तनाव बढाउन सक्ने अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । अमेरिकामा दक्षिण कोरियाले ३५० अर्ब डलर लगानी गर्ने सम्झौता भएको थियो, तर यो लगानी समावेश गर्ने व्यापार सम्झौताको विवरणमा उनीहरूबीच मतभेद रहेको छ । यस छापाले दुई देशबीचको आर्थिक र कूटनीतिक सम्बन्धमा थप जटिलता ल्याउने सम्भावना बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *