स्याउ टिप्दै उत्तरी गोरखाका किसान, ब्यापारीक थलाे काठमाडौँ

गोरखा, २२ भदौ । उत्तरी गोरखामा किसानले बगैँचाबाट धमाधम स्याउ टिप्न थालेका छन् । उनीहरु स्याउ टिपेर बिक्री गर्न बजार लैजाने तयारीमा जुटेका हुन् ।

चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित ‘इन गोरखा प्रोडक्ट प्रालि’को स्याउ फर्ममा गाला जातको स्याउ टिपिसकिएको फर्मका सञ्चालक लाक्पा ढुण्डुप लामाले जानकारी दिनुभयो । उहाँको बगैँचामा गाला, गोल्डेन र फुजी जातका स्याउ फलेका छन् ।

“गाला स्याउ टिपिसकियो । अब गोल्डेन टिप्ने तयारी भइरहेको छ”, उहाँले भन्नुभयो, “अबको एक महिनामा फुजी स्याउ पनि टिप्ने बेला हुन्छ ।” यसपटक गाला स्याउ १० हजार किलो उत्पादन भएको उहाँले जानकारी दिनुभयो । “दुई ट्रक स्याउ काठमाडौँ पठाइसकेको छु । काठमाडौँमा बिक्री गर्न समस्या छैन ।”

चार वर्षअघि लगाइएको लामाको बगैँचामा यतिबेला १२ हजार ५०० बोटमा स्याउ फलेका छन् । उहाँले आफ्नो उत्पादनलाई ‘चुमनुब्री स्याउ’ नामले ब्रान्डिङ गर्दैआउनुभएको छ ।

यसैगरी दुई हजार ७०० मिटर उचाइमा रहेको विशाल मनास्लु फर्म तथा लर्निङ सेन्टरका सञ्चालक छिरिङ लामा यतिबेला टिप्ने बेला भएको लटरम्म स्याउको बगैँचा देखेर दङ्ग हुनुहुन्छ । चुमनुब्री गाउँपालिका–२ ल्होमा रहेको सो स्याउ बगैँचा पाँच हजार बोट लटरम्म स्याउले भरिभराउ छ । गाला जातको स्याउ टिप्ने बेला भइसकेको सञ्चालक लामाले बताउनुभयो । उहाँको बगैँचामा गाला, फुजी, गोल्डन डेलिसियसलगायत जातका स्याउ छन् । असोज पहिलो हप्ताभित्रै सबै प्रजातिका स्याउ टिप्न थाल्ने उहाँले जानकारी दिनुभयो ।

लामाको बगैँचामा तीन वर्षदेखि स्याउ उत्पादन हुन थालेको हो । उहाँले आफ्नो बगैँचाको स्याउलाई ‘मनास्लु स्याउ’ नाम दिएर ब्रान्डिङ गर्नुभएको छ । लामाले गत वर्ष आठ हजार किलो स्याउ उत्पादन गर्नुभएको थियो । पहिलो वर्ष भने उहाँको बगैँचामा सात सय किलो मात्र स्याउ उत्पादन भएको थियो । उत्पादन बर्सेनि बढ्दै गएको लामाले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारअन्तर्गत कृषि ज्ञानकेन्द्र गोरखासँग साझेदारी गरी यहाँ स्याउ बगैँचा विकास गरिएको हो । चार वर्ष अघि कृषि निर्देशनालयले इटलीबाट ल्याएको गाला, फुजी, रेड र गोल्डन डेलिसियस जातको स्याउको उन्नत बिरुवा किसानलाई ७० प्रतिशत अनुदानमा उपलब्ध गराएको थियो । स्याउ बगैँचा स्याउखेतीसम्बन्धी अध्ययन गर्न चाहनेका लागि अध्ययन केन्द्रको रुपमा पनि विकास गरिएको छ ।