कतारमा इजरायली आक्रमणबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक बस्दै
काठमाडौँ, भदौ २५ । अल्जेरिया र पाकिस्तानको आग्रहमा, संयुक्त राष्ट्र सुरक्षा परिषद्ले बुधबार इजरायलले दोहामा हमासको राजनीतिक ब्युरोका सदस्यहरूलाई लक्षित गरी गरेको आक्रमणबारे छलफल गर्न आपतकालीन बैठक बोलाएको छ । संयुक्त राष्ट्रसंघका कूटनीतिक स्रोतहरूका अनुसार, परिषद्का सदस्यहरूले महासचिवालयका वरिष्ठ अधिकारीहरूबाट पछिल्ला घटनाक्रम र बढ्दो तनावबारे प्रत्यक्ष जानकारी लिने अपेक्षा गरिएको छ ।
महासचिव एन्टोनियो गुटेरेसले कतारमा भएको आक्रमणलाई देशको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको “स्पष्ट उल्लङ्घन” भन्दै निन्दा गरेका छन् । उनले गाजामा युद्धविराम सम्भव बनाउन र बन्धकहरूको रिहाइ सहज बनाउन कतारले खेलेको “धेरै सकारात्मक भूमिका” को पनि प्रशंसा गरे । गुटेरेसले सबै पक्षलाई “गाजामा स्थायी युद्धविराम हासिल गर्नमा ध्यान दिनुपर्छ, यसलाई नष्ट गर्न होइन” भन्नेमा जोड दिएका छन् ।
कतारको गृह मन्त्रालयले मंगलबार आन्तरिक सुरक्षा बल (लेखविया) का एक सदस्य, हमासका राजनीतिक ब्युरो प्रमुख खलील अल-हयाका छोरा हुमाम खलील अल-हय्यासहित तीन जनाको मृत्यु भएको जानकारी दिएको छ । साथै, धेरै सर्वसाधारण घाइते भएको पनि रिपोर्ट गरिएको छ ।
