प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको नेपाललाई आग्रह
काठमाडौँ, २७ भदौ । नेपालमा हालै विकसित घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गर्दै अमेरिकी वैदेशिक मामिला सम्बन्धी कमिटीका सिनेटरहरूले प्रजातान्त्रिक प्रक्रियामार्फत शान्ति स्थापना गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् । सिनेटरद्वय जिन शहिन र क्रिस भ्यान होलेनले बिहीबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “नेपालमा हालैका हिंसात्मक घटनाहरू, मानवीय क्षति र आगजनी अस्वीकार्य छन्। हामी पीडित र उनीहरूका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ ।”
उनीहरूले नागरिकहरूमाथि दमन गर्ने कार्यमा संलग्नहरूलाई जवाफदेही बनाउन पनि आह्वान गरेका छन्। विज्ञप्तिमा भनिएको छ, “नेपालले विगत दुई दशकमा प्रजातान्त्रिक अभ्यासमा महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ। नागरिकको अथक योगदानबाट प्राप्त यी उपलब्धिहरूको रक्षा गर्नु अत्यावश्यक छ ।”
शान्त, पूर्ण प्रजातान्त्रिक र गतिशील नेपाल नै नेपाली जनता, अमेरिका र यस क्षेत्रको साझा हितमा रहेको कुरामा जोड दिँदै विज्ञप्तिमा अगाडि भनिएको छ, “नेपाल सरकारले भ्रष्टाचार नियन्त्रण र संस्थागत कमजोरीहरूलाई सम्बोधन गरी नागरिकको विश्वास जित्नेछ भन्ने हाम्रो विश्वास छ ।”
