एएफसी एसिया कप छनोट २०२७ अन्तर्गत नेपालले दुवै खेल भियतनाममा खेल्ने तय

काठमाडौँ, २७ भदौ । एएफसी एसिया कप छनोट २०२७ अन्तर्गत नेपालले भियतनामसँगको दुवै खेल उसकै मैदानमा खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाहले नेपालले दुवै खेल भियतनाममा खेल्ने पुष्टी गरेका छन् । नेपाल र भियतनामबिचको पहिलो खेल अक्टोबर ९ मा बिन्ह डुओङ रंगशालामा हुनेछ । नेपालले आप्mनो होम म्याचका लागि थोङ न्हाट रंगशालालाई चयन गरेको छ । दोस्रोे खेल अक्टोबर १४ मा हुनेछ । खेल तालिकाअनुसार दोस्रो खेल खेल्न भियतनामको टिमले नेपाल भ्रमण गर्नुपर्ने थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रङगशालाको मैदान अयोग्य भएपछि नेपालले घरेलु मैदानमा खेल्ने अर्को अवसर गुमाएको हो । नेपाल समूह एफमा तीन लगातार अवे खेल खेल्ने टिम बन्नेछ । यसअघि नेपालले मलेसियामा २–० र लाओसमा २–१ ले हार वेहोरेको थियो । नेपाल अङ्क तालिकामा अन्तिम स्थानमा रहेको छ ।

भियतनामलाई भने दुवै खेल घरेलु मैदानमा खेल्न पाउने भएपछि फाइदा पुगेको छ । भियतनाम दुई खेलपछ तीन अङ्कसहित दोस्रो स्थानमा रहेको छ । भियतनामले लाओसलाई ५–० ले हराएर शानदार सुरुआत गरेको थियो । यद्यपि भियतनाम दोस्रो खेलमा मलेसियामा ४–० ले पराजित भएको थियो । मलेसिया शतप्रतिशत नतिजासहित शीर्ष र लाओस तेस्रो स्थानमा छन् । एएफसीले सन् २०२७ मा सउदी अबरमा हुने प्रतियोगितामा खेल्न २४ टिमलाई छ समूहमा विभाजन गरेको छ । समूह विजेता टिमहरु मात्र अगाडी बढ्ने प्रावधान रहेको छ ।