पाकिस्तानको दक्षिण वजिरिस्तानमा तालिबानको आक्रमणमा १२ सुरक्षाकर्मीको मृत्यु
काठमाडौ, भदौ २८ । पाकिस्तानको उत्तरपश्चिमी दक्षिण वजिरिस्तान जिल्लामा शनिबार बिहान ४ बजे पाकिस्तानी तालिबान समूहले गरेको आक्रमणमा कम्तीमा १२ सुरक्षाकर्मीको ज्यान गएको छ । स्थानीय सरकारी अधिकारीका अनुसार सैनिकहरूको गस्ती दल गुडिरहेको बेलामा दुवैतर्फबाट भारी हतियारसहित आक्रमण भएको थियो । आक्रमणमा १२ सुरक्षाकर्मी मारिएका र अन्य ४ जना घाइते भएका छन् । घटनास्थलमा तैनाथ अर्का एक सुरक्षाकर्मीले पनि मृत्युको सङ्ख्या पुष्टि गर्दै आक्रमणकारीहरूले सुरक्षाकर्मीहरूको हतियार कब्जामा लिएको जानकारी दिएका छन् ।
पाकिस्तानी तालिबान, जसलाई तहरीक-ए-तालिबान पाकिस्तान (टीटीपी) भनिन्छ, यो समूह अफगान तालिबानबाट पृथक भए पनि घनिष्ठ सम्बन्ध रहेको मानिन्छ । उक्त आक्रमणको जिम्मेवारी सोही समूहले सामाजिक सञ्जालमार्फत लिएको छ । यो आक्रमण पछिल्ला महिनाहरूमा खैबर पख्तुनख्वा प्रान्तमा भएको सबैभन्दा घातक घटनामध्ये एक हो। सो क्षेत्र केही वर्षअघिसम्म टीटीपीको प्रभावमा थियो, जसलाई सन् २०१४ देखि सुरु भएको सैनिक कारबाहीपछि पछि हटाइएको थियो ।
पाकिस्तानी सरकारले अफगानिस्तानमाथि आतंककारीहरूलाई आफ्नो भूमिबाट पाकिस्तानमाथि आक्रमण गर्न दिएको आरोप लगाउँदै आएको छ । जुन आरोपलाई काबुलस्थित अफगान सरकारले अस्वीकार गर्दै आएको छ । खैबर पख्तुनख्वा प्रान्तका विभिन्न जिल्लाहरूमा स्थानीयहरूले टीटीपीको नाम लेखिएको पर्खाल लेखोटहरू देखिएको बताएका छन् । उनीहरू पुनः सोही समूहको त्रासद शासन फर्कने डर व्यक्त गर्छन्, जुन अमेरिकी ‘आतङ्कविरुद्धको युद्ध’ को समयमा अफगानिस्तानबाट फैलिएको थियो ।
एक वरिष्ठ स्थानीय अधिकारीका अनुसार पछिल्लो समय टीटीपीका लडाकूहरूको सङ्ख्या र आक्रमणहरूको संख्या दुवै बढेको छ । सन् २०२५ को जनवरी १ देखि हालसम्म करिब ४६० जनाको ज्यान गइसकेको छ, जसमा धेरैजसो सुरक्षाकर्मीहरू रहेका छन्। यी आक्रमणहरू खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्तमा भएका हुन् ।
सन् २०२४ पाकिस्तानका लागि झन्डै एक दशकयताकै सबैभन्दा रक्तपातपूर्ण वर्ष बनेको थियो । जसमा एक हजार ६०० भन्दा बढी मानिसको मृत्यु भएको थियो । तीमध्ये करिब आधा सुरक्षाकर्मी र प्रहरी थिए, जसको विवरण इस्लामाबादस्थित अनुसन्धान संस्था ‘सुरक्षा अध्ययन तथा अनुसन्धान केन्द्र’ले दिएको हो ।