नाइजेरियामा सशस्त्र समूहद्वारा १८ महिला र बालबालिका अपहरण, एक जनाको हत्या
काठमाडौँ, भदौ २९ । नाइजेरियाको उत्तरपश्चिमी जामफारा राज्यमा शुक्रबार बिहान सशस्त्र समूहले गरेको आक्रमणमा एक पुरुषको हत्या भएको छ भने १८ महिला तथा बालबालिकालाई अपहरण गरिएको छ । बिहान करिब ५ बजे बिरनिन जरमा गाउँमा ‘ब्यान्डिट्स’ भनेर चिनिने अपहरणकारी तथा गाईचोरहरूको समूहले आक्रमण गरेको थियो । गाउँलेहरू बिहानको प्रार्थनाको तयारीमा रहेका बेला यो घटना भएको हो ।
गाउँका बासिन्दा इब्राहिम बेलोका अनुसार, आक्रमणकारीहरूले एक घरमा पसेर किसान गार्बा गाम्बोलाई गोली हानी हत्या गरे । उनकी श्रीमती घाइते भएकी छिन् । त्यसपछि, समूहले १८ जना महिला र बालबालिकालाई जबरजस्ती गाउँबाट लगे । छिमेकी बुक्कुयुम शहरका बासिन्दा लावल उमरले आक्रमणकारीहरू छिमेकी अङ्का जिल्लाबाट आएको र उनीहरूले नजिकैको जङ्गलमा शिविर बनाएको बताए । बुक्कुयुममा तैनाथ सैनिकहरू समयमै बिरनिन जरमा पुग्न नसकेको पनि उमरले जानकारी दिए ।
गाउँ राज्यको राजधानी गुसाउबाट करिब १७० किलोमिटर टाढा पर्छ । घटनापछि अपहरणकारी समूहले अहिलेसम्म फिरौतीको माग भने गरेका छैनन् । यसैबीच, गत महिनाको अन्त्यमा गुम्मी जिल्लामा भएका आक्रमणबाट भाग्दै गरेका १५ जना, जसमा अधिकांश महिला र बालबालिका थिए, नदी पार गर्ने क्रममा डुङ्गा पल्टिँदा डुबेर ज्यान गुमाएका थिए ।
जामफारा लगायत नाइजेरियाका उत्तरपश्चिमी र मध्य राज्यहरू विगत केही वर्षदेखि यस्ता हिंसात्मक समूहहरूको बारम्बारको आक्रमणको चपेटामा पर्दै आएका छन् ।
