टर्कीमा राजनीतिक संकट : विपक्षीको प्रदर्शन र एर्दोगानमाथि राजीनामाको दबाब
काठमाडौँ, भदौ ३० । टर्कीको राजधानी अंकारामा आइतबार दशौं हजार मानिसहरूले सडकमा उत्रिएर राष्ट्रपति रेसेप तय्यिप एर्दोगानको राजीनामाको माग गरेका छन् । टर्कीको राष्ट्रिय झण्डा र मुख्य विपक्षी दल रिपब्लिकन पिपल्स पार्टीको झण्डा बोकेका प्रदर्शनकारीहरूले सरकारको पछिल्लो कदमको विरोध गरेका हुन् । यो प्रदर्शन विपक्षी दलको सन् २०२३ मा भएको महाधिवेशनमा प्रक्रियागत अनियमितता भएको सम्बन्धी मुद्दामा सोमबार अदालतले फैसला सुनाउने पूर्वसन्ध्यामा भएको हो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार, अदालतले विपक्षी दलको महाधिवेशन वैध वा अवैध भनेर टुंगो लगाउनु अघिल्लो दिन राजधानीका सडकमा हजारौं मानिसहरूले शक्ति प्रदर्शन गरेका छन् ।
यदि विपक्षी दलको महाधिवेशन अमान्य घोषित भएमा दलको नेतृत्व नै संकटमा पर्न सक्नेछ । रोयटर्सले जनाए अनुसार, महाधिवेशन अवैध भएको निर्णय भए विपक्षी दलको संरचना मात्रै होइन, वित्तीय बजार र २०२८ को आम निर्वाचनको समयतालिकासमेत प्रभावित हुन सक्छ । विपक्षी दलका नेता ओजगुर ओजेलले यो मुद्दा राजनीतिक भएको र सरकारले पार्टी नेतृत्वलाई कमजोर बनाउने प्रयास गरेको आरोप लगाएका छन् । उनले भने, “हामी प्रतिरोध गर्छौं ।” ओजेलले तत्काल आम निर्वाचनको माग पनि गरेका छन् ।
सरकारले भने अदालत स्वतन्त्र रहेको र कुनै राजनीतिक हस्तक्षेप नभएको जिकिर गरेको छ । तर, विपक्षीहरूले भने पछिल्ला कारबाहीलाई ‘न्यायिक कू’ को रूपमा चित्रण गर्दै आएका छन् । बेलायती पत्रिका द गार्डियनका अनुसार, पछिल्लो एक वर्षमा विपक्षी दलका १७ जना मेयरसहित ५०० भन्दा बढी नेता कार्यकर्ताहरूलाई सरकारले पक्राउ गरी मुद्दा चलाएको छ ।
राष्ट्रपति एर्दोगानका प्रमुख प्रतिद्वन्द्वी एक्रेम इमामोग्लुको गिरफ्तारीपछि सबैभन्दा ठूलो विवाद उत्पन्न भएको थियो । गत मार्चमा उहाँलाई पक्राउ गरिएपछि टर्कीमा पछिल्लो दशककै ठूलो प्रदर्शन भएको थियो, जहाँ लाखौं मानिस सडकमा उत्रिएका थिए र यसले देशको मुद्रासमेत कमजोर बनाएको थियो । अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेस (एपी) ले सरकारको उद्देश्य चुनावअघि विपक्षीहरूलाई सिध्याउने रहेको बताएको छ। “इमामोग्लुको गिरफ्तारीले चुनावअघि नै विपक्षी नेताहरूलाई किनारामा पुर्याउने सरकारको वास्तविक उद्देश्य हो भन्ने प्रष्ट भइसकेको छ,” एपीले एक नेतालाई उद्धृत गर्दै लेखेको छ।
इमामोग्लुले जेलबाटै पठाएको पत्र पनि आइतबारको प्रदर्शनमा वाचन गरेर सुनाइएको थियो । “यो देशमा अब ‘म’ को युग समाप्त हुन्छ। ‘हामी’ को युग सुरु हुन्छ। एक व्यक्तिले हार्छ, बाँकी सबैले जित्छन्,” उहाँको पत्रमा उल्लेख थियो । पत्र वाचन गरिएपछि प्रदर्शनकारीहरूले ‘राष्ट्रपति इमामोग्लु’ भन्दै नारा लगाएका थिए । टर्कीमा विपक्षी दलको महाधिवेशनको वैधता बारे अदालतको निर्णय गर्नुअघि नै राजनीतिक तनाव चुलिएको छ । विपक्षीहरूको आक्रोश, सडक प्रदर्शन र अन्तर्राष्ट्रिय चासोले यो मुद्दा केवल कानुनी मात्र नभई टर्कीको राजनीतिक भविष्यसँग प्रत्यक्ष जोडिएको रोयटर्सले लेखेको छ ।
एर्दोगानले टर्कीमा लगातार दुई दशकदेखि शासन चलाइरहेका छन् । सन् २००३ देखि २०१३ सम्म उनी टर्कीका प्रधानमन्त्री थिए र पछि उनी राष्ट्रपति बनेका हुन्। तानाशाही शैलीमा शासन गरेको भन्दै उनको व्यापक आलोचना भइरहेको छ । टर्की उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को सदस्य राष्ट्र भए पनि एर्दोगानले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सुमधुर सम्बन्ध कायम गरेका छन् ।
