युक्रेन सीमाको हिरासतबाट दुई नेपालीको उद्धार
काठमाडौँ, असोज ३ । युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपाली नागरिकको सकुशल उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार रौतहटका जयप्रकाश साह र बागलुङका सन्देश केसीलाई बर्लिनस्थित नेपाली दूतावासको समन्वय र सक्रियतामा उद्धार गरी आज अपराह्न नेपाल फर्काउन लागिएको छ । उनीहरूको उद्धारमा युक्रेनको सीमा सुरक्षा सेवा कार्यालय र गैरआवासीय नेपाली सङ्घ जर्मनीले सहयोग पुर्याएका थिए ।
मन्त्रालयले विदेश यात्रा गर्दा सम्बन्धित मुलुकको अध्यागमनलगायत अन्य कानुनको पूर्ण पालना गर्न आग्रह गरेको छ । कानुनको उल्लङ्घन, अवज्ञा वा बेवास्ता गर्दा पक्राउ परिने, लामो समय थुनामा बस्नुपर्ने र ज्यानसमेत जोखिममा पर्न सक्ने चेतावनी मन्त्रालयले दिएको छ । यसप्रकार पक्राउ परेकाहरूको उद्धार प्रक्रिया सहज नहुने पनि जनाइएको छ ।
साथै, मन्त्रालयले विभिन्न प्रकारका प्रलोभन र बहकाउका सम्बन्धमा सचेत हुन तथा यस्ता कुनै पनि कार्यमा संलग्न नहुन सबैलाई अनुरोध गरेको छ ।
