संयुक्त राष्ट्रसङ्घको ८०औँ महासभामा नेपालका स्थायी प्रतिनिधि थापा सहभागी हुने
काठमाडौँ, असोज ८ । संयुक्त राष्ट्र सङ्घको ८०औँ महासभामा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले नेपालको प्रतिनिधित्व गर्नु हुने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार, मुलुकको वर्तमान विषम परिस्थितिमा नेपाल सरकारबाट तत्काल उच्चस्तरीय प्रतिनिधिमण्डल त्यहाँ जान सक्ने अवस्था नरहेकाले महासभामा स्थायी प्रतिनिधि थापाले नै नेपालका तर्फबाट प्रतिनिधित्व गर्नुहुने भएको हो ।
राष्ट्रसङ्घको ८०औँ महासभा असोज ७ गतेदेखि न्यूयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालयमा प्रारम्भ भएको छ ।
यसैगरी, केही मुलुकले नेपाललाई दिँदै आएको भिजिट भिसा रोकेको भन्ने सूचनाका सम्बन्धमा पनि मन्त्रालयले चासो व्यक्त गरेको छ । मन्त्रालयले सम्बन्धित मुलुकमा रहेका नेपाली राजदूतमार्फत आधिकारिक जानकारी लिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपालीहरू भिजिट भिसामा विभिन्न मुलुकमा गइरहेको अवस्थामा यस विषयमा प्रश्न उठेकाले त्यसलाई व्यवस्थित बनाउनका लागि सम्बन्धित अधिकारीहरूको उपस्थितिमा छलफल गरेको जानकारी दिनुभयो ।
