नेपाल र रुसबीच चेससम्बन्धी सम्झौता

काठमाडौँ, ९ असोज । नेपाल बुद्धिचाल महासंघ र रुसको मस्को क्षेत्रीय चेस महासंघबीच बिहिबार सम्झौता भएको छ ।
रुसको राजधानी मस्कोमा रुसका सिनेटर सेर्गेइ अलेक्जान्द्रोभिच कार्जाकिन र नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले सम्झौता पत्र आदानप्रदान गरे । सो सम्झौतापछि अब दुवै देशका महासंघले विभिन्न क्षेत्रमा सहकार्य गर्नेछन् । जसमा दुई देशमा चेसको लोकप्रियता बढाउन अनुभव साटासाट गर्दै खेलाडी टोलीहरूको दुईदेशीय आपसी भ्रमण गर्ने नेपाल र रुसमा खेलाडीहरूको तालिम सञ्चालन गर्ने तथा अनलाइन मार्फत समेत प्रशिक्षण हुने तथा नयाँ खेलाडी तयार गर्न प्रशिक्षकहरूको सीप अभिवृद्धि, अतिरिक्त शिक्षा र तालिमको व्यवस्था समेत गर्ने उल्लेख छ ।
यस सम्झौतापछि नेपाल र रुसमा दुई राष्ट्रका खेलाडी बीच द्विपक्षीय प्रतियोगिता तथा चेससम्बन्धी विषयगत गोष्ठी, सम्मेलन र विभिन्न कार्यक्रमको समेत आयोजना हुनेछ ।