शिक्षककाे तलब रोक्ने प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्रीको चेतावनी
काठमाडौं, ११ असाेज । शिक्षामन्त्री महावीर पुनले शिक्षककाे तलब रोक्ने प्रधानाध्यापकलाई भोलिसम्ममा तलब निकासा गरी तलव खुवाउन निर्देशन दिएका छन् ।
मन्त्रालयबाट तलब निकासा गरिसकेको बताउँदै तलब रोक्ने प्रधानाध्यापकहरूलाई कारबाही गर्ने चेतावनी सामाजिक सञ्जालबाट दिएका हुन् । उनले तलब निकासा गर्न भोलिसम्मको अल्टिमेटम पनि दिएका छन् ।
दसैं–तिहारको अवसरमा कतिपय विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरूले शिक्षकहरूको तलब समयमा नदिएको गुनासो बढेको बताउँदै समयमै तलव नदिएमा प्रधानाध्यापकहरूलाई नियमअनुसार कारबाही गर्ने मन्त्री पुनले चेतावनी दिएका हुन् ।
उनका अनुसार शिक्षा मन्त्रालयबाट दशैंअघि नै शिक्षकहरूको तलब सम्बन्धित विद्यालयहरूमा पठाइएको हो। तर पनि केही विद्यालयले शिक्षकहरूको तलब जानाजान रोकेको भन्दै उनले आपत्ति जनाएका छन्।
‘भोलि सम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएका शिक्षकहरूको तलब नदिएमा सम्बन्धित विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समिति सदस्यहरूलाई नियमअनुसार कारवाही गरिनेछ,” पुनले बताएका छन्।