रूसी विषाक्त मदिरा काण्ड: मृत्यु हुनेको संख्या २५ पुग्यो
काठमाडौँ, असोज ११ । पश्चिमी रूसमा यस महिना विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको सङ्ख्या २५ पुगेको अनुसन्धानकर्ताहरूले शनिबार जानकारी दिएका छन् । यस घटनासँग सम्बन्धित तीन जना संदिग्धलाई अनुसन्धानका लागि हिरासतमा लिइएको छ । रूसी अनुसन्धान समितिले दिएको जानकारीअनुसार, “छ जना मृतकको शवको फरेन्सिक मेडिकल जाँचले मेथनोलको उच्च स्तर फेला पारेको छ।” सेप्टेम्बर १० देखि १७ को बीचमा लेनिनग्राद क्षेत्रको भोलोसोव्स्की जिल्लाबाट शवहरू प्राप्त भएका थिए ।
यस घटनाको अनुसन्धान जारी रहेको र थप विवरणहरू सार्वजनिक गरिने अनुसन्धानकर्ताहरूले बताएका छन् । यस हप्ताको सुरुमा, सन् २०२३ मा नक्कली पेय पदार्थ उत्पादन र बिक्री गरी ५० जनाको ज्यान लिएको आरोपमा दुई जनालाई एक दशकको जेल सजाय सुनाइएको थियो ।
सन् २०१६ मा साइबेरियाको इर्कुत्स्कमा मेथनोलयुक्त नुहाउने तेल पिएर ६० जनाभन्दा बढीको मृत्यु भएपछि रूसले मदिरासम्बन्धी कानुन कडा पारेको थियो । यद्यपि, सस्तो र घरमा बनेको मदिराको सहज उपलब्धताका कारण, विशेष गरी ग्रामीण क्षेत्रहरूमा, यस्ता घटनाहरू दोहोरिने गरेका छन् । यो घटनाले रूसमा अवैध मदिरा उत्पादन र बिक्रीको गम्भीर समस्यालाई पुनः उजागर गरेको छ ।
