पाकिस्तानको पञ्जाबमा बाढीबाट ४२ लाख मानिस प्रभावित, करोडौंको क्षति
काठमाडौँ, असोज ११ । पाकिस्तानको पञ्जाब प्रान्तमा आएको मनसुनी बाढीले ४२ लाखभन्दा बढी मानिसलाई प्रभावित पारेको छ । संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (युएनओसएचए) का अनुसार विशेषगरी दक्षिणी जिल्लाहरूमा बाढीको गम्भीर असर परेको छ । सेप्टेम्बर ८ देखि १८ सम्म प्रदेश सरकारसँगको सहकार्यमा गरिएको एक सर्वेक्षणले १८ वटा बाढी प्रभावित जिल्लाका करिब २ हजार गाउँहरूलाई समेटेको थियो । यस सर्वेक्षणले बाढीका कारण लगभग २८ लाख मानिस विस्थापित भएको, एक लाख ६१ हजार ७०० घरहरू क्षतिग्रस्त भएको र स्वास्थ्य तथा शिक्षाका पूर्वाधारमा व्यापक क्षति पुगेको देखाएको छ ।
पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार जुन २६ देखि सेप्टेम्बर १९ को बीचमा देशभर करिब ३० लाख मानिसहरूलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको थियो। बाढीका कारण १२ हजार ५५९ घरहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने छ हजार ५०९ पशुधनको ज्यान गएको छ ।
यसअघि प्रधानमन्त्री शाहबाज सरिफले बाढीमा ज्यान गुमाउने परिवारका लागि दिइने अनुदान रकम दोब्बर गरी १० लाखबाट २० लाख रुपैयाँ पुर्याउने घोषणा गरेका थिए । यस विपत्तिले पञ्जाब प्रान्तमा मानवीय र भौतिक दुवै ठूलो क्षति पुर्याएको छ । प्रभावित क्षेत्रहरूमा राहत र पुनर्निर्माण कार्यलाई तीव्र पार्न आवश्यक देखिन्छ ।
